अनेरास्ववियू अध्यक्षमा नवीना लामा निर्वाचित
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्षमा नवीना लामा निर्वाचित भएकी छिन्। दीपक गौतमलाई २१६ मतले हराउँदै लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। लामाले ८६५ मत ल्याइन् भने अर्का प्रत्यासी गौतमले ६४९ मत पाए। निर्वाचन आयोगले यो परिणामलाई औपचारिकता दिन भने बाँकी छ।
नवीना रामकुमारी झाँक्रीपछि अखिलको नेतृत्व सम्हाल्ने दोस्रो नेतृ हुन्। नवीना एमालेभित्र केपी ओली पक्षकी हुन्। पराजित हुने गौतम माधव नेपाल पक्षका हुन्।
पदाधिकारीहरु अधिकांश संस्थापन पक्षका निर्वाचित भएका छन्। उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल तथा सलेश लामा विजयी भएका छन्। महासचिवमा ऐन महर विजयी भएका छन्।
सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन्। कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित भएका छन्।
माघ २८ देखि अखिलको अधिवेशन प्रज्ञा भवन कमलादीमा भएको थियो। प्रतिनिधि विवादका कारण लम्बिएको महाधिवेशनमा फागुन ५ र ६ गते नेतृत्व चयनका लागि निर्वाचन भएको थियो। निर्वाचनमा १ हजार ५ सय २० मत खसेको थियो।
Facebook Comment