Chabilal Kopilaछविलाल कोपिला
नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँका विभिन्न जातजातिका आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति रहेका छन्। आफ्नै किसिमका लवाइखवाइ, चालचलन र चाडपर्व रहेका छन्। माघ १ गते थारू समुदायले माघी मनाउने गर्छ। माघीलाई नयाँ वर्षको रूपमा मनाइन्छ। यसलाई ठाउँअनुसार माघ, माघी, माघे संक्रान्ति, खिचडी, खिचडा पनि भनिन्छ।

केही वर्ष पहिले मुक्त कमैयाहरू माघीमा विशेष छुट्टि पाउँथे। यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्र रूपमा मनाइने भएकाले यसलाई मुक्ति दिवसको रूपमा पनि लिने गरिन्छ। माघी थारू समुदायको चाडमात्रै नभएर यस अवसरमा नयाँ रीति–तिथि, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ। गाउँको अगुवा बरघर, महटाँवा, ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने? लेनदेन घरसल्लाहलगायत छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गरिन्छ।

थारू समुदायमा धुमधामसँग मनाइने माघीको तयारी केही दिन पहिलेदेखि नै सुरु हुन्छ। पात टिप्ने, दाउरा ल्याउने, जाँड–रक्सी पार्ने, माछा मार्ने ठाउँको छनोटलगायत कार्य गरिन्छ। माछा मार्नका लागि माघी अगावै कुलो, खोलानालामा चिनो राखिन्छ। यसलाई थारू भाषामा झुक्का डर्ना अथवा भ्युँरा–डर्ना भनिन्छ। झुक्का (चिनो) राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैन। पुस महिनाको अन्तिम दिन जसलाई ‘सुवर मर्ना’ दिन भनिन्छ। यस दिन बिहानैदेखि झुक्का हालेर रखवारी गरेका माछा मार्ने र सुंगुर मार्ने गरिन्छ। साँझ परेपछि आफ्ना इष्टमित्र, साथीभाइ कहाँ गएर जाँड, सुंगुरको मासु खाँदै पर्व गीत ‘ढमार’ गाउँदै माघी पर्वको प्रारम्भ गर्छन्।

ढमार माघीमा मात्रै गाइने आवधिक गीत होे। थारू समुदायमा सुंगुरको मासु विशेष रूपमा लिने गरिन्छ। यसकारण पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिएको हो। रैतीहरू आफ्ना जमिन्दार कहाँ दाउरा, पात दिन जान्छन्। उनीहरूलाई जमिन्दारले पनि ठूलै सम्मानका साथ खुवाउने पिलाउने गर्छन् र खानपिनसँगै उनीहरूले ‘ढमार’ गाएर मनोरञ्जन गर्छन्। त्यसै राति बरघरको घरमा गाउँभरिका मान्छे जम्मा भई मादल, डंफूको तालमा ढमार गाउँछन्। अँगनामा ठूलठूला मूढा बालेर धुनी जलाइन्छ। त्यही धुनी ताप्दै जाँड खाँदै रातभरि जाग्राम बसेर ढमार (ढुमरु) गाउने चलन छ।

ढमार गीतका विभिन्न सन्दर्भ रहेका छन्। पहिलेका पुराना ढमारमा प्रकृतिप्रेम, स्तुतिगान, प्रेमालाप र मनोरञ्जनको प्रभाव बढी भेटिन्थ्यो भने अहिलेको आधुनिक ढमारमा भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, दमनप्रतिको वितृष्णा र मुक्ति, अधिकार, राष्ट्रियता, प्रकृति एवं शान्तिप्रतिको आशाका भाव झल्किन्छ। जुन गीतभित्रका गम्भीर अभिव्यक्तिले सकारात्मक चिन्तन, सद्भाव र समयबोध गराउँछ।
ढमार गीतसँगै माघीमा मघौटा नाच विशेष मानिन्छ। देउखुरी क्षेत्रमा भने माघी विशेष भनेर कुनैै छुट्टै प्रकारको नाच हुँदैन अथवा माघी पर्वमा मघौटा नाच नाचिँदैन। योे क्षेत्र विशेषको चलनअन्तर्गत पर्छ। गाउँको सबै रस्तीबस्ती मिलिसकेपछि गाउँका खास जिम्मेवारी पाएकाहरूले ‘सँग मिलाई’ चुक्की या माघी आउनुभन्दा पहिले ‘सँग छुटाई’ चुक्की खाने चलन छ। यही चुक्कीमा झुम्रा नाच नाचेर रमाउँछन्। जुन नाच अरू मनोरञ्जनको अवसरमा पनि नाचिन्छ। दाङलगायत पश्चिमी थारू जिल्लामा ‘मघौटा नाच’ प्रचलित छ। माघ आउनुभन्दा पहिलेदेखि थारू युवायुवती मघौटी गीत गाउँदै नाचेर रमाउने गर्छन्। नाचमा मादल, झाल, कस्टार बजाउँदै छाता ओढेर नाच्ने गर्छन्। मघौटा गीतको केही अंशः
‘सखी ए हो!  माघक पिली गुरी गुरी जाँर सखिय हो
कहाँ मैं लगैबु आम इमिलिया रे हाँ,
कहाँ लगैबुँ
सखी ए हो! कौन पानी छिटुँ धनी डाँर सखी ए हो!
यता महिलाहरू बिहान ढिक्री/रोटी बनाउन उठ्छन् भने गाउँका मानिस ढमार गाउँदै, मादल, डफ बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलसागरमा नुहाउन जान्छन्। थारू समुदाय प्रकृतिपूजक भएकाले यस पर्वमा उनीहरू ‘कुवँरवर्ती’ (जलदेवी)सँग आफ्ना दुःखसुख सुनाउने र विभिन्न माग माग्ने गर्छन्। यस अवसरमा कोही लामो समयदेखि बिरामीमा परेको छ या कुनैै समस्या छ भने मनोकामना गर्दै जलदेवीलाई भाकल गर्ने गर्छन्। स्वेच्छाले भाले, परेवा या पुज्ने बाचा गर्छन्। यदि आफ्नो माग पूरा भए ३ या ५ वर्षमा आफूले बाचा गरेका भाले, परेवा पुज्ने गर्छन् र यसरी पुज्ने कामलाई ‘मनौटा पुज्ना’ भनिन्छ। नुहाउन जाँदा साथमा पिठो या चामलको टीका र तिलको छन्टी लिएर जान्छन्।

Maghi Dang 3

थारू समुदायमा सेतो टीका लगाउने चलन छ। सेतो टीका शान्तिको प्रतीकको रूपमा लिइन्छ। यसलाई चोखो अथवा पवित्र वस्तु मानिन्छ। सेतो टीका पारदर्शिताको प्रतीक पनि हो। सेतो वस्तुमा कुनैै पनि दाग लाग्यो भने प्रष्टै देखिन्छ। त्यसैले माघी नुहाएर कुनैै किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिबद्धताका साथ सपथ खाने गरिन्छ। त्यसैगरी आजको दिन तिलको आँगो ताप्ने चलन छ। तिलको आगो पवित्र मानिन्छ। यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता छ थारू समुदायमा। त्यत्तिमात्रै होेइन, यसदिनलाई नयाँ कपडा फेर्ने दिनको रूपमा पनि लिइन्छ। वर्षभरि पुराना लुगा लगाए पनि आजको दिन लुगा फेर्न सके राम्रो हुने मान्यता छ।

यसरी नुहाएर घरमा आई ‘निस्राउ’ निकाल्ने चलन छ। निस्राउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे। जुन आफ्ना चेलीबेटीलाई पाहुरको रूपमा दिइने चलन छ। निस्राउ निकालेर जन्म दिने आमाबुबालाई ढोग गरेर आशीर्वाद लिने गरिन्छ। आमाबुबा नभएकाले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडासँग आशीर्वाद लिने गर्छन्। नाताअनुसार ढोग आशीर्वाद लिँदै खानपिन सुरु हुन्छ्। दिनभरि गाउँमा यसैगरी सेवाढोग गर्दै माघी मनाइन्छ। यसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, सहयोग, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ।

माघीमा सुंगुरको मासु, मेवाको अचार, मसिनो आलुको चट्नी, अन्डीको जाँड र लामो ढिक्री खास परिकार बनाइन्छ। ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक–फरक प्रकारका हुन्छन्। माघीमा लामो ढिक्री हुन्छ। माघीपछि समय लामो हुने भएकाले लामो ढिक्री बनाइएको तर्क छ थारू समुदायमा। अर्को तर्कअनुसार माघीमा लामो ढिक्री खाएपछि आयु लामो हुने जनधारणा पनि छ। ढिक्रीमा थारू समुदायको मौलिकता झल्किन्छ।

दोस्रो दिन ‘खिच्रहवा’ हो। खिचडी पकाएर खाने दिन भएकाले ‘खिच्रहवा’ भनिएको हो। खिचडी मासको दाल, चामल, नुन, बेसार, घ्यू या तेलमा पकाइन्छ। जमिन्दार, रैती, किसान, कमैयाँ, ओर्गिनियाँ, छेग्रहवा, बर्डिवा, भैंसरवा सबै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने, कसैले कसैप्रति पदीय विभेद गर्न पाउँदैन। सबै स्वतन्त्र रूपमा बोल्न पाउने भएकाले दिल खोलेर छलफलमा सहभागी हुन्छन्।

घरभित्रको आन्तरिक छलफल पनि जमेर हुन्छ। को, कुन कामको जिम्मा लिने, उमेर पुगेकाको विवाह गर्ने नगर्ने, ‘छारा’ (बसाई सर्ने) जाने नजाने, घर छुट्टिने नछुट्टिने, अधिया–बटैया लिने–दिने, वर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसँगको लेनदेन, हिसाब–किताबलगायत घरायसी कुराको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिने–दिने काम हुन्छ। अधिया–बटैया गरी खेती किसानी गर्ने रैती आफ्नो जमिन्दार कहाँ ‘करै’ (रक्सी राख्ने करुवा जस्तै माटोको भाडा)मा रक्सी लिएर माघी दिवानी गर्न जान्छन्।

वर्षभरिको कामको समीक्षा गर्ने र पुनः जिम्मेवारी लिन–दिन गरिने छलफललाई माघी दिवानी भनिन्छ। आजकल करैको रक्सी बोक्ने चलन नभए पनि दुवै पक्षको सल्लाहमा खानपिनको व्यवस्था हुन्छ या जमिन्दारकै घरमा छलफल हुने भएकाले उसैले खानपिनको जिम्मा लिएको हुन्छ। छलफल खानपिन पूर्व नै सुरु हुन्छ। अधिया–बटैयाको कुरामा सहमति भए दुवैले एकअर्कालाई सेवाढोग गरी खुशीयालीमा खानपिनसँगै रमाउँछन्। यसरी गरिने कामको सम्झौता थारू समुदायमा अलिखित हुन्छ। जुन सम्झौता एक वर्षको लागि मात्रै रहन्छ, अर्को माघीपछि स्वतः खारेज हुन्छ।

तेस्रो दिन ‘भुराखेल’ (ख्याला) हो। भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीको बृहत् भेला हो। भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ र भेला गाउँको अगुवाको घरमा हुन्छ। आगामी वर्षको लागि गाउँका अगुवा पनि चुनिने भएकोले यो दिनको विशेष महत्व मानिन्छ। अगुवालाई ठाउँ विशेषअनुसार बरघर, ककन्दार, भल्मन्सा, महटाँवा भनिन्छ। अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया, पन्हेर्वा, गाउँको मर्वा (भूँइह्यारथान) को हेरचाहका लागि चिरकिया, गाउँको रक्षक एवं हुलाकीको रूपमा काम गर्ने चौकीदार पनि चयन गरिन्छ।

बैठकमा गत वर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडक, धार्मिक पूजापाठलगायत विकासको कामसम्बन्धी समीक्षा हुन्छ। नयाँ नीति–नियम, नियम उलंग्घन गर्नेलाई दण्ड जरिवाना तोकिन्छ। यसरी लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण गरिने भएकाले गाउँलाई पनि अनुशासित बनाउँछ। यसको महत्वलाई मध्यनजर गर्दै विगत केही वर्षयता गाविस तथा जिल्लास्तरमा बरघर समिति पनि गठन हुन थालेका छन्। यस कार्यले अबको दिनमा परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास हुनेछ भन्ने आशा गर्न सकिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *