शेरबहादुर देउवा र भीम रावललाई एक थारु नागरिकको खुला पत्र
पूर्वप्रधानमन्त्री र गृहमन्त्री एवं हालका माननीय सभासदज्यूहरु
थारु नागरिक समाज, कैलालीको तर्फबाट सर्बप्रथम यहाँहरु द्वयलाई जय नेपाल र लालसलाम! साथै दिलेन्द्रप्रसाद बडु, रमेश लेखक र एमालेका नेताहरु समेतलाई जय नेपाल र लाल सलाम!
यहाँहरु राजधानीमा बस्ने हुनाले म कैलालीको बासिन्दाले सशरीर भेट गर्न गाह्रो छ, तर सञ्चारको पहुँचले गर्दा यहाँहरुको अनुहार प्रायजसो टेलिभिजनमा हेर्न पाइरहेको छु। यहाँहरुको मुखारबिन्दबाट यहाँहरुको आवाज, दृष्टिकोण, टेलिभिजन, रेडियोमार्फत श्रवण गरिरहेको छु। पत्रपत्रिका, अनलाइनहरुमा पढ्न पाइरहेको छु र वर्तमानमा चलिरहेको समसामयिक विषयमा यहाहरुसँग केही गुनासा, केही प्रश्न र जिज्ञासा राख्न चाहिरहेको छु। साथै नेपाल र आम नेपालीहरुलाई देशको र विशेषगरी सुदूरपश्चिम विकास क्षेत्रको वास्तबिक अवस्थाबारे जानकारी पनि गराउन गइरहेको छु।
आदरणीय नेताज्यूहरु अहिले यहाँहरु रहेको दल नेपाली कांग्रेस र नेकपा एमाले, राप्रपा नेपाल र दुई तीनवटा साना दलहरु दुई तिहाइको बहुमतबाट संविधान सभालाई प्रक्रियामा लगेर संविधान बनाउने प्रयत्न गरिरहेको छ। १० वर्षसम्म जनयुद्ध हाँकेको पार्टी एनेकपा माओवादी (जुन०६२/०६३ को जनआन्दोलनको सहयात्री पनि थियो), मधेसवादी, उत्पीडित जाति सम्बद्ध दलहरु संविधानसभा बहिष्कार गरेर आन्दोलनको मोर्चा सम्हालिसकेका छन्। बि.स. २०५२ साल माघ २१ गते यहाँ प्रधानमन्त्री भएको बेलामा एमाओवादीका नेता डा. बाबुराम भट्टराईले ४० बुँदे माग राखेको र यहाँले यी भुसुनाहरुले के गर्ने हुन् भनी बेवास्ता गरेको, मिडियासामु बोलेको र देशले भोगेको यथार्थ यहाँलाई अवगत नै होला। १० वर्षसम्म कुनै एक पार्टीले जनतालाई गोलबन्द किन र कसरी पार्योा? जनता किन हतियार उठाउन, मर्न र मार्न तयार भए? यी प्रश्नको जवाफ मलाइभन्दा पनि यहाँहरुलाई बढी थाहा छ। थाहा हुँदाहुँदै पनि किन बुझ पचाइरहनु भएको छ? किन उत्पीडित जातिहरुलाई अधिकार दिन चाहिरहनुभएको छैन? के उत्पीडित जातिहरु, क्षेत्रबासीहरु प्रदेशको नाम र पहिचान मात्रै मागेका हुन् त? जातीय राज्य नै मागेका हुन् त? सुदूरपश्चिमेली पहाडकै भाषामा भन्ने हो ठडुवा (थारु)हरु थरुहट प्रदेशमात्रै मागेका हुन् त? मलाई त्यस्तो लाग्दैन।
उत्पीडित जातिहरु पहिचानको साथै सम्मान र स्थायी सत्तामा समान सहभागिताको अधिकार मागिरहेका छन्। उनीहरु स्थायी राज्य सत्ताले गरेको विभेद् र थोपरेको उत्पीडनबाट मुक्ति खोजिरहेका छन्। तिनै विभेद र उत्पीडनले गर्दा उनीहरु एमाओवादीको जनयुद्धमा लागेका हुन् र मर्न र मार्न पनि तयार भएका हुन् भन्ने कुरा यहाँहरुलाई थाहा छ। तर देश शान्ति प्रक्रियामा गइरहेको बेला फेरी पखबाद (पहाडबाद र खसबाद) को मोहले किन पछ्यायो, बशमा राख्यो यहाँहरुलाई? सारा उत्पीडनको समूल नष्ट हुनेगरी सहमतिको माध्यमबाट संबिधान बनाए, राज्यको पुनर्संरचना गरे, त्यसको श्रेय त यहाँहरुलाई नै जान्थ्यो होला नि। तर देशका शाहहरु, राणाहरु, पंचेहरुले तराईलाई पहाडको उपनिबेश बनाएजस्तै यहाँहरु पनि तराईलाई पहाडको उपनिवेशभन्दा माथि सोच्न सक्नु भाको छैन। दलित, जनजाति, मुश्लिम, मधेशीहरुलाई दोस्रो दर्जाका नागरिकभन्दा माथि उकास्न चाहिराख्नु भाको छैन। आखिर किन हुँदैछ यस्तो? किन गरिरहनु भाको छ यस्तो?
यहाँहरु हवाईजहाजबाट धनगढी झर्ने बित्तिकै पत्रकारहरुसँग सुदूरपश्चिम अखण्ड रहन्छ भनिहाल्नु हुन्छ। प्रधानमन्त्री र गृहमन्त्री भैसकेका मान्छेले बोलेपछि मिडियालाई पनि खुराक हुन्छ। बिशेषगरी शेरबहादुरसँग भन्नैपर्ने हुन्छ, तपाईँ चुनाव लडेको क्षेत्र कैलालीको क्षेत्र न. ६ को मतदाता म पनि हो। त्यतिबेला त तपाईँ थारुहरुसँग मत माग्दा कैलाली र कञ्चनपुरलाई पहाडको उपनिबेश बनाउँछु, पहाडमा गाभेर सुदूरपश्चिम प्रदेश बनाउँछु भनी मागेको होइन। म थारुहरुलाई अधिकार सम्पन्न बनाउँछु, राना थारुहरुलाई आदिवासी जनजातिमा सूचीकृत गर्छु, थारुहरुको आवाजको कदर गर्छु, मुक्त कमैयाहरुलाई तुरुन्त पुनर्स्थापना गर्छु, पक्की घर बनाउँछु भनी मागेको हो नि। तपाईँलाई साथ दिने ब्यक्ति थिए दाङका त्यतिबेलाका समानुपातिक सभासद र हालका सभासद एवं बेसका अध्यक्ष डिल्लीबहादुर चौधरी। उनलाई कैलालीका बुद्धिजीबीहरुले प्रचार गर्न आएकै बेला भनेका थिए, तपाईँ दाङमा प्रचार गर्नुस्, कैलालीमा नघुम्नुस्। हामी थारुहरु सुदूरपश्चिम पहाडबाट पीडित छौं, पखबाद (पहाडबाद र खसबाद) बाट पीडित छौं, हामीहरुलाई यहाँको राज्य सत्ता, प्रहरी प्रशासन र अभिजात शासक जातिले हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार फरक छ। हामीलाई दोस्रो दर्जाका नागरिक मान्छन् र ब्यबहार गर्छन्। वहाँ मान्नु भएन। मुक्त कमैयाहरुको मत दिलाउन वहाँ मरीमेटी लाग्नु भयो, यथार्थ यही हो। तर पुरानै संरचनालाई अखण्ड बनाउँछु भनेर मागेको मत होइन, बिकास गर्छु, अधिकार सम्पन्न बनाउँछु भनी मागेको मत हो, म दाबीका साथ भन्छु। पुनर्संरचनाको कुरामा त यहाँहरु प्रबेश गर्नु भाकै थिएन। इमान्दारीका साथ भन्ने हो संविधान सभाको चुनावमा दलहरुले प्रचार गर्दा बिकासका कुरालाई भन्दा पनि पुनर्संरचनाको कुरालाई जनता समक्ष राखेर मतमाग्नु पर्थ्यो।
थारुहरुको बीचमा कैलाली र कञ्चनपुरलाई पहाडमा गाभ्ने वा अलग राखी प्रदेश बनाउने भनी अभिमत लिनु पर्दथ्यो, त्यसो गर्नुभएन। त्यो हिम्मत तपाईं र तपाईका कार्यकर्ताहरुमा थिएन। त्यत्ति मात्रै होइन, तपाईंको पार्टीमै थिएन। तपाईं र तपाईंका जिल्लास्तरीय नेता, कार्यकर्ताहरु, थारुहरुलाई भुलभुलैयामा कसरी राख्ने भनी जालझेल गर्नमै ब्यस्त हुनुभयो। कमरेड भीम रावल त कैलालीबाट चुनाव नलड्ने मान्छे, उहाँलाई सहज नै छ, चिलगाडीबाट धनगढी ओर्ल्यो कि देश सुहाउँदो पंचायती संरचना सही छ, त्यसैले यसलाई निरन्तरता दिन्छु, विकास क्षेत्रलाई नै अखण्ड बनाउँछु, १२५ जातजातिको नाममा प्रदेश बाँड्न सकिन्न भनिहाल्नुहुन्छ। म तपाईँहरुलाई प्रश्न सोध्न चाहन्छु, के नेपाल खस जातिको मात्रै हो त? कैलाली र कञ्चनपुरका थारुहरु पहाडका धनीमानी, उपल्ला जातिहरुका दास मात्रै हुन् त? उनीहरुको इतिहास, भाषा, संस्कृति छैन? उनीहरुलाई समान सहभागिताको अधिकार छैन?
आजअखण्ड शब्द सुन्ने बित्तिकै मुटुमा च्वास्स घोच्छ। संघीयतामा अखण्ड नामको पाखण्डी शब्द तपाईँहरुको मुखबाट कसरी आयो? खण्ड नगरी संघीय शासनमा देश जान्छ? के थारुहरुले कैलाली र कञ्चनपुरलाई अलग देश बनाउने माग गरेका छन् र? थारुहरुले कैलाली र कञ्चनपुरको शासक, थारु जातिमात्रै हुनुपर्छ भनेका छन् र? थारुहरु पनि यो देशका नागरिक हुन्, यहाँ हरेक कार्यमा, संरचनामा उनीहरुको समान सहभागिताको अधिकार छ, कैलाली र कञ्चनपुरको राजनीतिक क्षेत्र, रोजगारका क्षेत्र, प्रहरी, प्रशासन हरेक क्षेत्रमा समान अनुपातमा सहभागी हुन पाउनुपर्छ, उनीहरुको भाषा, संस्कृति, इतिहासको कदर र सम्मान हुनुपर्छ भनी थरुहट प्रदेश मागेका न हुन्। यसले तपाईँहरुलाई किन र के अप्ठ्यारो पारेको छ?
देश नेतृत्व अनुरुप चल्ने गर्छ। त्यसैले म त भन्छु, तपाईँहरुजस्ता नेताहरुको कारणले आज सुदूरपश्चिमको विकास भाको छैन। सभासद भयो कि राजधानी काठमाडौं, त्यो नभए महेन्द्रनगर वा धनगढी बसाइले गर्दा पहाड ठगिएको छ। बाहिर देखावटी एउटा कुरा छ, भित्र अर्कै छ। तपाईँ नेताहरु र नेताहरुकै इर्दगिर्दमा घुम्ने नागरिक अगुवाहरुका कारण सुदूरपश्चिममा छाउपडी प्रथा हट्न सकेको छैन। दलितहरु छुवाछुतको प्रताडनाबाट मुक्त हुन सकेका छैनन्। चुनाव आउँदा पूर्बेली र पश्चिमेली पहाडीबीच भेदभाव हुन्छ। कपास (सुदूरपश्चिमेली पहाडीको भाषामा कर्णाली पारीको समाज, समूह) को नारा घन्किन्छ। सञ्चारमा छाइरहेको सुदूरपश्चिमेली जनतामा ठडुवा (थारु) हरुको सामेली हुँदैन। मिडियाले भन्छ, सुदूरपश्चिमेली जनता अखण्ड चाहन्छन्। सुदूरपश्चिमेली जनता अखण्ड चाहन्छन् भने थारु के हुन्? को हुन्? उनीहरुको अभिमत लिइएको छ? आन्दोलन हुँदा प्रहरीले ठडुवाहरुमाथि दमन गर्छ। यी सत्यलाई तपाईँहरु सञ्चारमार्फत् ढाकछोप गर्ने प्रयत्न गर्नुहुन्छ र गर्नुहोला। तर उत्पीडित समुदायको नजरबाट तपाईँहरुका यी हर्कत, ब्यबहार ओझेल परेको छैन, पर्न सक्तैन।
तपाईंहरु प्रधानमन्त्री, गृहमन्त्री भइसकेका ब्यक्ति हुनुहुन्छ र भोलीका दिनमा तपाईँहरु यी पदभन्दा तल बस्नुहुन्न। सत्ता तपाईँहरुको हातमा छ। तपाईँहरु चाहनुहुन्छ भने थारुहरु पहिचान पाउन सक्छन्, सत्तामा साझेदारी पाउन सक्छन्, हरेक निकायमा समानुपातिक सहभागिताको अधिकार पाउन सक्छन्, पखवाद (तराईमा पहाडको पक्ष लिएर र पहाडका आदिवासी जनजातिबीचमा ब्राम्हन/क्षेत्रीको पक्ष लिएर गरिने कार्य)को उत्पीडनबाट मुक्ति पाउन सक्छन्। उत्पीडितहरुलाई अधिकार दिने हिम्मत किन आइरहेको छैन, यहाँहरुको मुटुमा? के नेपाली लोकतन्त्रवादी र साम्यवादीहरुको दिल दिमाग, पखबादबाट उपर हुन सक्तैन? नेपाली सोचाई निरंकुशताभन्दा माथि हुन सक्तैन? एक मधेस, एक प्रदेशको नारा घन्काउने मधेसी अगुवाहरु समेत, तराईलाई २ प्रदेशमा राख्न सकिने भनी सहमति जनाइसकेको बेला यहाँहरुको हृदय किन पग्लिन सकेन? सकिरहेको छैन? दुनियाँका सामु त नेपाली कांग्रेस भनेको प्रजातन्त्र र प्रजातन्त्र भनेको नेपाली कांग्रेस हो भनी प्रचार गर्नुहुन्छ। देशको असली कम्युनिष्ट एमाले हो, सबै कम्युनिष्टको संरक्षक संगठन एमाले हो भन्नुहुन्छ। तर वषौंवर्षको पखबादको पीडाबाट थारुहरु, मधेसीहरु, आदिवासी जनजातिहरु, मुस्लिमहरु उम्किन खोज्दा, पहिचानसहितको अधिकार माग्दा विपरित ध्रुवका तपाईँहरु पखवादमा गएर उभिनुहुन्छ। आखिर किन हुँदैछ पत्थर दिल यहाँहरुको?
आज तपाईँहरुको पखबादबाट पीडित भएर तराईका थारुहरु, मधेसीहरु, पहाडका आदिवासी जनजातिहरु, अल्पसंख्यक मुस्लिमहरु खुल्लमखुल्ला मुख खोल्न बाध्य भइरहेका छन्, भनिरहेका छन्, उनीहरुलाई पहिचानसहितको अधिकार चाहियो। उनीहरु निश्चित भूगोलमा बस्छन्, उनीहरुको आफ्नै भाषा छ, आफ्नै संस्कृति छ, आफ्नै लवाई खवाई र तौर तरिका छ। उनीहरुका यी पहिचानको अधिकार तब मात्र सुनिश्चित हुन्छ, जब उनीहरु आफ्नो भाषामा पढ्छन्, सत्तामा उनीहरु समान अनुपातमा साझेदारी गर्छन्, उनीहरु बसोबास गरेको क्षेत्रमा उनीहरुको चाडपर्वले मान्यता पाउँछ, सरकारी कार्यालयमा उनीहरुको भाषाले मान्यता पाउँछ।
अन्तमा म यतिमात्रै भन्न चाहन्छु कि आजको यो २१ औं शताब्दीमा देशमा रहेका उत्पीडित जातिहरु चाहे दलित हुन्, अल्पसंख्यक मुश्लिम हुन्, आदिवासी जनजाति हुन् वा मधेसी हुन्, अन्याय र अत्याचारलाई सहेर कोही पनि बस्न सक्तैनन्। शासन सत्तालाई आफ्नो पुर्ख्यौली सम्पत्ति ठान्नेहरुले बिशाल छाती र उदार दिलले सोचिदिनुपर्ने हुन्छ कि लोकतन्त्रमा जनता नै सबैथोक हुन्छन्, उनीहरु सन्तुष्ट नहुँदासम्म, माग पुरा नहुञ्जेलसम्म लोकतन्त्र बलियो हुँदैन। देशमा स्थायी शान्ति हुँदैन। लोकतन्त्रमा अधिकार नपाउँदासम्म उत्पीडितहरुको बिद्रोह गर्ने अधिकार रहन्छ। अधिकार नपाउँदासम्म उत्पीडितहरु आन्दोलित हुन्छन् नै। थारुहरुको हकमा पनि त्यही हो। म त भन्छु आजको २१ औं शताब्दीमा तपाईँहरु अधिकार दिन सक्नुहुन्न भने जनतालाई घुमाउरो पाराले, छलकपट गरेर, प्रहरी, प्रशासन, न्यायालय, मुद्दा मामिला लगाएर, अन्याय र अत्याचारमार्फत् थिलथिल पारेर, तडपाएर नमार्नुस्, सोझै लाइन लगाएर भुट्नुस्, सत्ता तपाईंहरुकै हातमा छ। प्रहरी प्रशासन, सरकारी संयन्त्र लगाएर, अन्याय र अत्याचारमार्फत् बिस्तारै मार्नु भन्दा त उत्पीडितहरुका लागि त्यो धेरै सहज छ। तपाईँहरु आफ्नो दलभित्रैका थारु अगुवा र कार्यकर्ताहरुको माझमा कैलाली र कञ्चनपुरलाई पहाडमा गाभ्ने वा नगाभ्ने भन्ने बिषयमा छलफल चलाउने हिम्मत गर्नु भाको छैन, उनीहरुलाई पेलेर राख्नु भएको छ, ह्वीप जारी गर्नु भएको छ। अनि थारुहरुका अगुवा, बुद्धिजीविहरु, समाजसेवीहरु, सचेत नागरिकहरुबीचमा छलफल चलाउन किन हिम्मत गर्नुहुन्थ्यो र! संविधान सभालाई समेत संसदमा रुपान्तरण गर्नुभएको छ र ह्वीप जारी गर्नुभएको छ। के यो संविधान सभा र लोकतन्त्रको हुर्मत होइन? त्यसैले मेरो बिनम्र अनुरोध छ, उत्पीडित जातिहरुलाई पखबादबाट मुक्ति दिनुस्, उनीहरुको पहिचानसहितको अधिकारलाई बहाली गर्न मद्दत गर्नुस्, तराईलाई बरु तीन प्रदेशमा विभाजन गरिदिनुस् तर पहाडको उपनिवेश नबनाउनुस्। कूल जनसंख्याको एक प्रतिशतभन्दा बढीको जनसंख्यामा रहेको जातजातिको नाममा प्रदेश दिन सहयोग गर्नुस्, कम संख्यामा रहेका जातजातिहरुलाई स्वायत्त इलाका, क्षेत्र आदिको ब्यवस्था गरी पहिचानसहितको अधिकारलाई सुरक्षित गरिदिनुस्। अपनत्व हुने, सामाजिक एकता अझ मजबुत हुने वातावरण तयार गरिदिनुस्। यसैमा सबैको कल्याण छ। मान्नुहुन्न, बीस-पच्चीस वर्ष अझैं पनि पेलपाल गरी धकेल्छौं, पुरानैं राज्य संरचनालाई कायम गरी राख्छौं, एक भाषा, एक भेषको संरक्षण गर्छौं भन्नुहुन्छ भने मेरो भन्नु केही छैन। तर यस्तो कार्यले देशले सही निकास पाउँदैन। बाँकी यहाँहरुको मर्जी।
थारु नागरिक
दिलबहादुर चौधरी
Facebook Comment