जेपी गुप्तालाई लेखीको उत्तर- ‘थारु र मधेसीको समस्या एउटै होइन’
जयप्रकाश गुप्ताले दुई साताअघि थारु नेताहरुलाई केही प्रश्नु तेर्स्याएका थिए। थारु नेता विजयकुमार गच्छदार, राजकुमार लेखी र गोपाल दहितलाई गुप्ताले तीन प्रश्नह तर्स्याएका थिए (गुप्ताको प्रश्न पढ्नुस्)। सोही उत्तारको जवाफ थारु नेता राजकुमार लेखीले दिएका छन्। उनले तराईमा सबै जातीय समुदायले आ-आफ्नो ढंगले समस्या र पीडा भोगेको बताउँदै थारु र मधेसीका समस्या एउटै नभएको बताए। उनले भनेका छन्- ‘मधेसी समुदायले भोगेको समस्या नै सबैको समस्या हो र थारुको समस्या पनि त्यही हो भन्ने मान्यतामा म कदापि सहमत छैन।’
पूरा पढ्नुस्
राजकुमार लेखी– तराईको समस्या जातीय, भाषिक क्षेत्रीय सबै हो र यसको सर्वाधिक पीडा थारुसहितका आदिवासी जनजाति समुदायले भोगिरहेको छ। समस्यालाई भ्रमपूर्ण ढंगले सामूहिकीकरण या सामान्यीकरण गर्ने षड्यन्त्रमूलक प्रवृत्ति अगाडि सारेर थारु समुदायलाई राज्य पुनर्संरचनाको बहसमा अलमलमा पार्न खोजिएको अर्को तथ्य नबिर्सौं।
तराईमा सबै जातीय समुदायले आ-आफ्नो ढंगले समस्या र पीडा भोगेका छन् र सबैका समस्या एकै प्रकारका छैनन्। मधेसी समुदायले भोगेको समस्या नै सबैको समस्या हो र थारुको समस्या पनि त्यही हो भन्ने मान्यतामा म कदापि सहमत छैन।
तराईमा मधेसी समुदाय र थारु समुदायले भोगेका समस्या फरक छन्। मधेसीका समस्या अगाडि ल्याएर थारुका समस्यालाई गौण बनाउने, पहाडी आदिवासीका समस्यालाई अगाडि ल्याएर तराईका आदिवासीले भोगेका समस्यालाई गौण बनाउने या ढाकछोप गर्ने प्रवृत्तिसँग कुनै हालतमा सहमत हुन सकिन्न।
राज्यपुनर्संरचनामा सबै जाति, क्षेत्र, भाषा र संस्कृतिलाई एउटै मापदण्डले सम्बोधन गर्न सकिन्न। लिम्बूलाई लिम्बूवान जुन तरिकाले चाहिन्छ, थारुलाई थरुहट फरक तरिकाले चाहिन्छ। राज्यपुनसंरचनामा दलितलाई जसरी सम्बोधन गर्नुपर्ने हुन्छ, अरु समुदायलाई त्यसरी नै सम्बोधन गर्न सकिन्न। तपाई मधेसी नेताहरु सबैलाई एउटै मापदण्ड, खासगरी मधेसी दृष्टिकोणबाट सम्बोधन गरियोस् भन्ने चाहनुहुन्छ। त्यसो गर्दा थारु समुदायलाई अन्याय हुन्छ, राज्यपुनर्संरचनाको अर्थ हुँदैन।
थारु समुदाय मेचीदेखि महाकालीसम्म छरिएर रहेको छ र त्यहाँ यो समुदाय अल्पमतमा परिसकेको छ। ठूलो थरुहट प्रदेश बनाउँदा थारु समुदायले नामचाहिँ पाउँछ तर माम र काम पाउनेछैन। किनभने यो समुदाय थरुहट नामको प्रदेशमै अल्पमतमा हुन्छ। त्यसैले हामीले बहुप्रदेश भनेका हौं। बहुप्रदेशमा पनि थरुहट प्रदेश भनेका हौं। यो कुरा तपाईँहरुले बुझ्नुभएको छ तर पहाडी र मधेसी नेताहरुको स्वार्थ अनुकूल नहुने भएकाले नबुझे झैं गरेर हामीतिर प्रश्न तेर्साउनुहुन्छ।
बहुप्रदेशले थारु बाहूल्य प्रदेशहरुको सिर्जना हुन्छ र थारुहरुले नामका साथै काम र माम पनि पाउने अवस्था सिर्जना हुन्छ। तर तराईमा थोरै प्रदेश बनाउँदा कि मधेसी बाहूल्य हुन्छ कि पहाडी समुदायको बाहूल्य हुन्छ र थारुले नामबाहेक केही नपाउने स्थिति हुन्छ। यो कुरा बुझेरै पहाडी र मधेसी नेताहरु थोरै प्रदेश बनाउन एकढिका भएका हुन्। यो तथ्यलाई ढाकछोप गर्ने प्रयास नगर्नुहोला।
गुप्ताजी,
थारु यस्तो समुदाय हो जो पहाडी र मधेसी दुवै समुदायको चेपुवामा परेको छ। मधेसी समुदाय पहाडी समुदायको मात्र चेपुवामा परेको होला तर थारु दुवै समुदायबाट पीडित छ। तराईमा थारुको भाग मधेसी समुदायको पोल्टामा पर्छ, आदिवासी जनजातिका नाममा थारुको भाग पहाडी आदिवासी जनजातिको पोल्टामा पर्छ।
तराईलाई एउटै या दुईतीनवटा प्रदेश बनाउँदा थारुले नामबाहेक केही नपाउने स्थिति हुन्छ। घाम जतिकै छर्लङ्ग देखिने यो तथ्यलाई तपाईँहरुले कसै गरे पनि ढाकछोप गर्न सक्नुहुन्न।
फेसबुकमा हेर्नुस्:
Facebook Comment