Hedda play (2)

भाषा शर्मा- नेपाली रंगमञ्चमा विदेशी भाषाका नाटक अनुवाद गरेर प्रदर्शन भइरहेछन्। मौलिक नाटक नभएर भने होइन। विदेशी साहित्य अलिक मन छुने हुनाले अनुवाद गरिएको बताउँछन् ‘हेड्डा ग्याब्लर’का निर्देशक प्रवीण खतिवडा। ‘नेपाली भाषामा लेखिएका नाटक प्रदर्शनका लागि त्यति चित्त बुझ्दो हुँदैन,’ उनी भन्छन्, ‘नेपाली कथा प्रशस्तै छन्। नाटकमा पर्फमेन्स गर्न अप्ठेरो हुने खालका छन्।’ लगत्तै नेपाली नाटकको तयारीमा लाग्ने दाबि उनले गरे।
खतिवडालाई विदेशी साहित्यले छिटो तान्छ। ‘प्लट’ शक्तिशाली, सिलसिलेवार लाग्छन्। काँटछाँट गरेर मिलाइरहने झन्झट हुँदैन। नेपाली समाज सन्दर्भसँग मिल्ने खालका पनि हुन्छन्। नेपाली उच्चारण फितलो हुने डरले ‘ग्याब्लर’को सट्टा ‘महिला, शक्ति र स्वतन्त्रता’ थपिएको छ। ‘हेड्डा ग्याब्लर’ महिलावादी नाटकको रुपमा व्याख्या गरिन्छ।
नाटककी मुख्य पात्र महिला छिन्। महिलाले जीवनमा गरिरहनुपर्ने संघर्षका कथा समावेश छ। वैवाहिक जीवनमा पसेपछि नयाँ परिवारमा समायोजन हुन कति गाह्रो छ? गृहस्थ जीवनका तगारा नाघ्न गरिएका प्रयास र बाहिरी परिवेशले पात्रलाई थिचिरहेको हुन्छ। पतिलाई देखावटी माया मात्र दिने हेड्डा आफ्नो परिचय खोजिरहन्छे।
नर्वेजियन शब्द ‘हेड्डा ग्याब्लर’। प्रसिद्ध नाटककार हेनरिक इब्सनद्वारा सन् १८९० मा प्रकाशित नाटक हो। विश्वप्रख्यात नाटक ‘हेड्डा ग्याब्लर’ को नेपाली अनुवाद शिल्पीको गोठाले नाटकघरमा चलिरहेछ। १२० वर्ष अघिको नाटक अझै सान्दर्भिक छ।
‘हेड्डा’ नाटककी मुख्य पात्र हो। हेड्डा कसैकी पत्नी भएर चिनिनु भन्दा आफ्नै नाममा उभिने प्रयत्नमा हुन्छिन्। उनलाई एक घमण्डी, इर्श्यालु पात्रको रुपमा प्रस्तुत गरिएको छ।

एक सम्पन्न परिवारमा जन्मेर, हुर्केकी जर्नेलकी छोरी हेड्डा। त्यसको भूमिका सरस्वती चौधरीले निभाएकी छिन्। आमा पात्रको नाम कतै नसुनिँदा उनी बाबुसँगै हुर्केकी भन्नेमा दर्शक प्रष्ट हुन्छन्। जर्नेलको छोरी पेस्तोलसँग खेल्ने, घोडचढीसँग अभ्यस्त हुन्छिन्। कसैले आफ्नो घरमा आएर उमेर गैसक्यो भनिदिँदा हतारिएर गरिएको विवाहबाट निस्किदाको परिणाम, फेरि दोस्रो विवाह। दोस्रो पतिसँग पहिलो पतिको मिलन। अन्य पुरुषले देखाउने यौन दुर्व्यवहार लगायत समाजका विविध समस्याले उनलाई मानसिक रुपमा विक्षिप्त बनाउँछन्। आखिर उनी आत्महत्याको बाटो रोज्छिन्।

शुद्ध नेपाली भाषा संवादमा राखिएका छन्। साधारणतया बोलीचाली भन्दा अलिक फरक शैलीमा बोलिएका छन्। दुईजना लेखक बीचको प्रतिस्पर्धा नबुझिने खालको लाग्छ। पात्रहरुले बोल्ने औपचारिक भाषाले कतिबेला दर्शकलाई अलमल बनाउँछ त कतिबेला हँसाउँछ। हेड्डालाई स्वतन्त्र देखाउन खोजिएको छ। उनी घर बाहिर कहिल्यै जाँदिनन्। तरपनि आफुलाई नयाँ कुरासँग घुलमिल गराउन लागि पर्छिन्।
‘नेपाली नाटक नभएर होइन। दर्शकलाई फरक स्वाद चखाउन फरक नाटक देखाउन आवश्यक छ’ भन्छन् शिल्पीका निर्देशक घिमिरे युवराज। रंगमञ्च सीमित विचारधारा भित्र नराखी कामलाई फराकिलो बनाउन विदेशी नाटक अनुवाद हुनुपर्नेमा जोड दिन्छन्। इब्सनको यो नाटक नेपाली समाजका केही चारीत्रिक र मानवीय पक्षसँग मिल्दोजुल्दो लाग्ने बताउँछन्।
एउटै कोठाभित्रै नाटक सकिन्छ। लाइट, साउण्डले दर्शकलाई फरकपन दिन खोजिएको छ। यथार्थवादी नाटकका पिता मानिने इब्सनको नाटक मर्म भित्र रहेर मञ्च सजावटमा बढी खर्च लागेको घिमिरेले बताए। पानी परिरहेको दृश्य, पेस्तोल पड्केको आवाज, घरको दृश्य दर्शकलाई यथार्थ लाग्छ। बीचबीचमा लामो संवादले पट्यार दिन्छ।
अञ्जु देउजा, विपिन कार्की, सरस्वती चौधरी, पशुपति राई, घिमिरे युवराज, विक्रमसिंह थारुको अभिनय छ। नाटकको अनुवाद बलबहादुर थापाले गरेका छन्। परिकल्पना तथा निर्देशन प्रवीण खतिवडाको छ।

Sarswati Chaudhary-2

हेड्डा’ अर्थात सरस्वती
दश वर्ष अघिदेखि रंगमञ्मा प्रवेश गरेकी सरस्वती चौधरीले ‘हेड्डा’को भूमिकामा छिन्। उनकै जिम्मामा नाटक घुमेको छ। बर्दिया भीम्मापुरकी चौधरी गुरुकुल दोस्रो व्याचकी उत्पादन हुन्।
उनले निभाएको ‘हेड्डा’ पात्र नेपाली समाजमा केही हदसम्म मिल्दो जुल्दो लाग्छ। उहिले नर्वेमा लेखिएको नाटक अझैसम्म हाम्रो समाजसँग मेल खाँदा उनी आफै दंग पर्छिन्। चौधरी भन्छिन्, ‘महिलाले आफ्नो ठाउँ खोज्न स्वतन्त्रता रोज्छन्। त्यही पात्र लाग्छ हेड्डा। आफ्नो ठाउँ खोज्न निकै मेहनत गर्नुपर्छ। नेपाली समाजमा केही मिल्छ।’
भन्छिन्, ‘महिला स्वभावैले केही इर्श्यालु लाग्छन्।’ तर, पूर्ण रुपमा हेड्डा जस्तो भने आफू छैनन्। हेड्डासँग उनको बानी थोरै मात्र मिल्छ। ‘म पनि आफ्नो ठाउँ खोज्छु। स्वतन्त्रता खोज्छु। हेड्डा जत्तिको घमण्डी, इर्श्यालु भने छैन।’ थप्छिन्, ‘मेरो झनक्क रिसाउने स्वभाव छ। मन नपरेको कुरामा प्रतिक्रिया दिन्छु।’
हेड्डाको अचानक निर्णय लिने बानी छ। आफ्नो स्थान पाउन नसक्दा आत्महत्याको बाटो रोज्छिन्। त्यो बाटो सरस्वतीलाई गलत लाग्छ। पुरुषसँग टक्कर लिन खोज्ने, पेस्तोलसँग खेल्ने भूमिका अप्ठेरो लाग्छ।
नाटकको शुरुदेखि अन्त्यसम्म लगातार उनको भूमिका छ। मुख्य पात्रले नाटकलाई कता लैजाने भन्ने हात हुन्छ। एक्लै भएको बेला नाटक हेन्डल गर्दा उनीमाथि ठूलै जिम्मेवारी देखिन्छ। तर, आफूभित्रको अप्ठेरो दर्शकलाई भने उनी सुइँको सम्म दिन्नन्।
नाटक शुरु हुनुभन्दा एक घण्टा अघि नै उनी तयारीमा हुन्छिन्। महत्वपूर्ण भूमिका त्यसैमाथि औपचारिक खालका लामो भनाभन भएकाले थकित हुन्छिन्। छिनछिनमा रिसाउने, हाँस्ने अभिनय दुरुस्त निभाएकी छिन्। भन्छिन्, ‘नाटक सकिए लगत्तै शारीरिक र मानसिक रुपमा थाक्छु।’
गाउँमा थारु भाषामा सानैदेखि नाटक, नृत्यमा भाग लिन्थिन। शुशिल चौधरीसँग रंगकर्मी सुनिल पोखरेलले थारू समुदायकी पात्रको माग गरेपछि उनी गुरूकुलसँग सहकार्य गर्ने मौका पाएकी थिइन्। रिलिजको क्रममा रहेको ‘सुन्तली,’ ‘तान्द्रो’ फिल्ममा चौधरी सहायक भूमिकामा देखिँदैछिन्।

नागरिक दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *