जागुराम चौधरी, उरहरी-६, दाङ
जागुराम चौधरी, उरहरी-६, दाङ

उरहरी-दुई दिनदेखिको वर्षाले लगातार तर्साइरहेको थियो। जतिखेरै घरमा बाढी पस्ने डरले सताउँथ्यो। शुक्रबार बिहानको बबई नदी डरलाग्दो देखियो।  रेडियोले जतिजति खोला बगेको समाचार फुक्थ्यो, मेरो मुटु ढक्क फुल्थ्यो। त्यसमाथि ठाउँठाउँबाट फोन आइरहे– ‘त्यहाँ बाढीको खतरा छ रे, सजग भएर बस्नू।’ साँझ पर्योा। नदी र अँध्यारो दुवै बढ्दै थिए। मेरो डर पनि त्यत्तिकै बढिरहेथ्यो।

डराउँदा–डराउँदै निकै बेरपछि आँखा लागेछ। दुई बजेको हुँदो हो, आँगनमा बाँधिका गोरु र भेडा जोडले कराए। म ब्युँझिएँ। लाइट बोकेर बाहिर निस्किएँ। आँगनमै आइसकेछ नदी। भेडा–गोरु डुब्नै आँटेसकेछन्। हतारहतार परिवारलाई उठाएर बाहिर निकालें। कम्मरसम्म पानीले डुबिसकेको थियो। ९ जनालाई डाँडामा पुर्याेएपछि म फेरि घरतिरै आएँ। गोरु, भेडा र सरसामान जोगाउनु थियो। तर, म पुग्दा दुइटै घर थिएनन्।

गोरु र भेडा पनि कता पुगे कता! पानीले सबै श्रीसम्पत्ति खाइसकेछ, जिउमा लगाएका लुगा र ज्यानबाहेक। मैले गाउँलेबाट डेढ सय मुरी धान किनेर जोहो गरेको थिएँ। त्यो एक दाना पनि बचेन। १५ दिनकी सुत्केरी बुहारी छे। ९ जनाको परिवार। कहाँ लगेर बसाल्ने उनीहरूलाई? के खुवाउने? दिमागले सोच्नै छोडिसक्यो। सरकारले केही व्यवस्था गरिदिए हुन्थ्यो। नत्र हामी मर्नुको विकल्प देखिँदैन।

देवेन्द्र सुवेदी/नागरिकन्युज साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *