pic
तस्बिर सौजन्य : प्रतीक रायमाझी

दाङ– म इराक गएको दुई वर्ष पुग्नै आँटेको थियो। त्यहाँको सामरा भन्ने सहरमा घर बनाउने कन्स्ट्रक्सन कम्पनीमा काम गर्दै आएको थिएँ। दिनको २ हजार ५ सय रुपैयाँ तलब पाइन्थ्यो। कमाइ राम्रै थियो। सुरुमा त्यहाँ शान्ति थियो। जहाँ पनि निर्धक्क हिँड्न पाइन्थ्यो। पछि द्वन्द्व चर्कन थाल्यो। मान्छे मारिएका समाचार मात्रै सुनिन थाले। कतै सत्ता पक्षले मारिएका खबर सुनिन्थे त कतै विद्रोहीले भवन ध्वस्त पारेका र हत्या गरेका समाचार आउँथे। जताततै हिंसा भड्किन थालेपछि सरकारले कर्फ्यु लगायो। खुलेआम हिँड्न बन्द भयो। डराईडराई हिँड्नुपर्थ्यो।

सरकारले कर्फ्यु लगाएर अवस्था सामान्य पार्न खोजे पनि झन्झन् द्वन्द्व चर्कंदै गयो। हामीलाई झनै तनाव थपियो। दिनरात बम पड्किएको आवाज मात्र सुनिन थाल्यो। डरले सातो जान्थ्यो। इराकको अर्को सहर टिक्रिक झनै आतंकित भएको सुन्दा सामरामा पनि उस्तै आतंक फैलिने डर बढ्दै गयो।

सामरामा पनि नकाबधारी आतंककारी बन्दुक बोकेर हिँडेका देखिन्थे। ज्यान जाने डरले दुई महिनासम्म कम्पनीबाहिर निस्कनै सकेनौं। विद्रोहीहरूले मार्ने डरले भित्रको भित्रै बस्यौं। कम्पनीभित्रै बसेका बेला आक्रमण हुने डर थियो। हाम्रो नजिकका सरकारी निकाय धमाधम ध्वस्त भइरहेका थिए। हामीले काम गर्ने कम्पनी पनि उनीहरूको निशानामा परेको रहेछ। जतिबेला जे पनि हुन सक्ने।

त्यस्तो डरको माहौलमा घरपरिवारको साह्रै याद आयो। फोन गरुँ, मोबाइल अफ थियो। विद्रोहीले फोनको टावर ध्वस्त पारेका थिए। जिउँदै घर नपुगिएला कि भन्ने चिन्ताले सताउन थाल्यो। ज्यानकै भर नभएपछि न काम गर्न मन लाग्थ्यो, न खान। सबै साथी निन्याउरो मुख लाएर बसेका हुन्थे। सबैले आ–आफ्ना घरका कुरा गर्थे।
दिन जति बित्दै गयो, बमका आवाज उति चर्कंदै गए। अवस्था बिग्रँदै गयो।

हुँदाहुँदा एक दिन कम्पनीले नै हामीलाई भाग्नू भन्यो। हामी झनै अत्तालियौं। हामी चारजना नेपाली र अन्य देशका ४० गरी ४४ कामदार थियौं। जताततै विद्रोही मात्रै छ्याप्छ्याप्ती। उनीहरूसँग कसरी जोगिने भन्ने चिन्ता मात्रै लागिरह्यो। कम्पनीले नै विद्रोहीका कारण असुरक्षित भएको बताएपछि त झन् बाँच्ने आशा निकै कम भयो।

त्यही बेला विद्रोहीहरू हामीले काम गर्ने कम्पनीमै छिरे। चार दिनसम्म उनीहरूले हामीसँग नियमित बयान लिएजस्तै गरे– कहाँबाट आएको? के काम गर्छौ?
विद्रोहीको पञ्जामा परेपछि बाँच्ने आशा झनै झिनो बन्दै गयो। उनीहरूले चाहेका भए जे पनि गर्न सक्थे। तर हामीलाई बाँच्नु लेखेको रहेछ। चार दिनपछि ती विद्रोहीले ‘तुरुन्त इराक छाड्नू’ भनेर आदेश दिए। मटु ठूलो भयो। त्यसपछि बल्ल अब मार्दैनन् भन्ने लाग्यो। बाँच्ने आशा पलायो।

विद्रोहीहरूले भनेअनुसार हामीले तुरुन्त त्यो ठाउँ छाड्नुपर्ने भयो। उनीहरूले कम्पनीका मालिक र कम्पनीमा काम गर्ने सबैलाई घर फिर्ता गर्न धम्की दिएका थिए। सायद हामीले काम गरेको त्यो कम्पनी पनि ध्वस्त पारे होलान्। हामी त्यहाँ छँदा पनि त्यो कम्पनीमा आक्रमण हुने हल्ला चलिरहेको थियो। धन्न हामी छँदासम्म केही गरेनन्। त्यहीँ भएकै बेला कम्पनीमा आक्रमण गरेका भए आज यसरी परिवारसँग भेट हुन पाउने थिएन। विद्रोहीहरूले चाँडो निस्कन दबाब दिएकाले पनि हामीलाई तत्काल कम्पनीबाट बाहिरिनु थियो। ढिला गरे उनीहरूले नै आएर मार्लान् भन्ने डर थियो।

कम्पनीकै पहलमा हामी त्यहाँबाट जुन १६ तारिखमा निस्क्यौं, किर्कुक सहरका लागि। बाटैभरि विद्रोहीका चेकपोस्ट मात्रै थिए। पहिले ती चेकपोस्टमा सरकारी सेनाले चेक गर्दै आएको थियो। विद्रोहीले सबै कब्जा गरिसकेका रहेछन्। बाटोमा विद्रोहीको चेकिङ आउँदा मुटुले ठाउँ छाड्थ्यो। पासपोर्ट हेरेर तुरुन्त इराक छाड्न भन्थे। बाटैभरि विद्रोहीको जगजगी भैरह्यो। जहाँ पनि विद्रोही मात्रै देखिने। धन्न कसैले केही गरेनन्।

डराई–डराई हामी किर्कुक भन्ने सहरसम्म पुग्न सफल भयौं। त्यहाँसम्मको सबै खर्च कम्पनीले बेहोरिदिएको थियो। किर्कुक भन्ने ठाउँ आइपुगेपछि लामो सास फेर्यौंग। बाँचिने आस बढ्दै गयो। अघिल्ला घटना सबै सपनाजस्तै लाग्न थाले।

किर्कुक सहरमा हामी २६ दिन होटलमा बस्यौं। पछि त्यहाँ अरू नेपाली साथीहरू पनि आइपुग्नुभयो। उहाँहरूको कुरा सुन्दा झनै टिठ लाग्यो। मैलेभन्दा उहाँहरूले दुःख पाउनुभएको रहेछ। कति दिनसम्म उहाँहरू भोकै बस्नुभएको रहेछ। हामी बसेको सहर किर्कुकमा द्वन्द्व चर्किसकेको थिएन। त्यहाँ पनि द्वन्द्व चर्कने हो कि भन्ने डर थियो। मैले किर्कुक आइपुगेपछि बल्ल घरपरिवारलाई फोन गरेँ। घरका सबै आत्तिएका रहेछन्। इराकमा चलेको द्वन्द्व, त्यसमा पनि म सम्पर्कविहीन हुँदा केही तलमाथि भइहाल्यो कि भन्ने परेछ घरमा। सुरक्षित नेपाल फर्कन्छु भनेर परिवारलाई थामथुम पारेँ।

पछि सरकारको पहलमा हामी नेपाल फर्कियौं। जब नेपालका लागि जहाज चढ्यौं, अनि मात्रै घरमा जिउँदो फर्कनेमा ढुक्क भयौं।

म घर आइपुग्दा सबैजना धेरै खुसी हुनुभयो। इराकमा म धेरै पैसा कमाउने लोभले गएको थिएँ। कमाइ राम्रै भएको थियो। तर ज्यानको बाजी लगाएर जोगिएर आएँ। मलाई अहिले लागेको छ, पैसाभन्दा जीवन प्यारो हो भनेर। इराकमा भोगेको दुःखले म इराक त के, बाहिरका कुनै पनि मुलुक नजाने प्रण गरेको छु। यहीँ बसेर दुईचार पैसा जुटाउने केही उपाय खोज्छु। ज्यानको बाजी लगाएर मोटो रकम कमाउनुभन्दा सुखसँग थोरै कमाउनु बेश।

(नागरिकका देवेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित)




Leave a Reply

Your email address will not be published. Required fields are marked *