कमलरीबाटै उठेका नेतृहरू
दस वर्षअघिसम्म सतबरिया ५ की विष्णु चौधरीको जीवन बन्धनमा थियो । मालिकका भाँडा माझ्ने, कपडा धुँदामै दिन बित्थ्यो । माघी मान्न घर आएका बेला कमलरी जान नमान्दा बुबाबाटै गाली पाएकी थिइन् । तर उनको पढ्ने चाहनाले जीवनको बाटो बदलियो । उनी अहिले थारू समुदायकी एक शिक्षित युवती मात्रै होइन, सिंगो कमलरी आन्दोलनकै अगुवा बनेकी छन् ।
कमलरी मुक्त भएलगत्तै स्थानीय राप्ती मावि उचानिम्बुमा ५ कक्षामा भर्ना भएकी विष्णु परीक्षामा प्रथम भइन् । त्यसपछि शिक्षकले नै उनको घरमा गएर विद्यालय नियमित गर्न बुबालाई आग्रह गरे । ‘सुरुमा बुबाले कमलरी नगए जमिनदारले खेत अधियाँ दिँदैन भन्नुहुन्थ्यो, पछि अधियाँ नपाए पनि पढाउने प्रण गर्नुभयो,’ उनले भनिन्, ‘सुरुमा खेतमा काम गर्न जाँदा पनि किताब लुकाइलुकाई पढेँ ।’ ५ देखि १२ कक्षासम्म प्रथम श्रेणीमै उत्तीर्ण भएकी विष्णु अहिले अंग्रेजीमा बीएड गर्दैछिन् । कुनैबेला आफ्नै जीवनको स्पष्ट बाटो नदेखेकी उनी अहिले सयौं कमलरीलाई बाटो देखाउँछिन् ।
विष्णु अहिले कमलरीको जीवन परिवर्तनको वकालत गर्दै थारू गाउँ चहार्दैछिन् । पढाइलाई निरन्तरता दिँदै उनी मुक्त कमलरी विकास मञ्च कैलालीमा परियोजना सहायक छिन् । ७ कक्षा पढ्दा कमलरी मुक्तिका लागि साझा मञ्च देउखुरी अध्यक्ष भएकी उनी संस्थापक केन्द्रीय सदस्य हुँदै उच्चमावि पढ्दा दाङ कार्यक्रम संयोजकका रुपमा जागिरे थिइन् ।
निरन्तर मुक्ति आन्दोलनमा रहेकी विष्णुले १० कक्षा पढ्दा आन्दोलनमा सफलता हासिल गरेबापत बेलायत पुगेर पुरस्कार ग्रहण गरिन् । बेलायतमा उनले ३ मिनेट कमलरी प्रथाबारे भाषण दिइन् ।
एसएलसीमा ६९ प्रतिशत अंकले उनलाई सफलताका सिंढी चढ्न अरु सहज भयो । घर बनाउँदा लागेको ४ हजार ऋण तिर्न वाषिर्क १ हजार ५ सयमा कमलरी पठाएकी छोरीले सामुदायिक विद्यालयबाट प्रथम श्रेणी ल्याएपछि बुबा भीरराज र आमा पवित्राको खुसीको सीमा रहेन । उनले १२ कक्षा पढ्दा अन्तर्राष्ट्रिय बालिका दिवसमा नेपाली बालिकाको प्रतिनिधित्व गर्दै स्पेन गएर आफूहरूको अवस्थाबारे भाषण गरेकी थिइन् । थारू भेषभूषामा स्पेन पुगेकी विष्णुलाई भाषण गरेपछि त्यहाँका विद्यार्थी अटोग्राफ लिन झुम्मिए ।
विष्णुजस्तै कमलरीबाट उठेर समुदायकै नेता बन्ने किशोरीहरू पश्चिम तराईमा धेरै छन् । संघर्षबाट माथि उठेर अन्तर्राष्ट्रिय चर्चा पाएकी अर्की पूर्वकमलरी हुन् गढवा ६ मानपुरकी उर्मिला चौधरी । बाल्यकालमा बाआमाका काखमा खेल्ने र सुन्दर भविष्य निर्माणको कल्पना गर्ने अवसर नपाएकी उर्मिला पटकपटक कमलरी आन्दोलनको नेतृत्व गर्दै सिंहदरबार, राष्ट्रपति भवन र सडकमा पुगिन् ।
‘मैले १२ वर्ष दासतामा बिताएँ । ती वर्ष निकै पीडा र यातनामा रहे । अर्काका घरमा बस्नुपर्ने, अबोध बाल्यकालमा,’ उनले भनिन्, ‘पढ्नेलेख्ने उमेर अर्काको भाँडा माझेर बिताउनुपरेपछि १८ वर्षको उमेर एक अक्षर पनि नचिनेर बित्यो । घरखर्च टार्न कमलरी पठाएको भन्थे तर कहिल्यै काम गरेको पैसो लिएको मैले थाहा पाइनँ ।’
बाल्यकालमा कमलरी बस्नुपरेको र पैसा नपाएर घर र्फकनुपरेको पीडा संगालेर ०६४ देखि अक्षरयात्रा थालेको उनले बताइन् । ‘पढ्न थाल्दा मेरा हातमा कापीकिताब मात्रै थिएनन्, गाउँ जगाउने माइक पनि थियो । आफूजस्तै कमलरी बसेकालाई छुटाउन परिवारलाई दबाब दिएँ,’ उनले भनिन्, ‘फलस्वरूप ०६५ मा कमलरी मुक्तिका लागि साझा मञ्च गठन गरियो र त्यसको नेतृत्व पनि गरेँ ।’
कत्ति पछि नहटेर आफ्नो यात्रालाई अघि बढाउँदै गएपछि अन्ततः उनी घर र गाउँ समाजलाई चकित पार्दै जिल्लाकै कमलरी मुक्ति अभियानकी नेता बनिन् । हरेक कमलरी आन्दोलनमा उनको नाम अगाडि आउँछ । मुक्त कमलरी विकास मञ्चकी जिल्ला अध्यक्ष उर्मिलाले आन्दोलनको नेतृत्व गर्दै विभिन्न देश पुगेर बालिकाका पक्षमा बोल्ने अवसर पाएकी छन् । उनले अमेरिका, नर्वे, जर्मन र स्विजरल्यान्डमा कमलरीका पक्षमा वकालत गरेकी छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसमा सन् २०१२ मा अमेरिका गएर नेपाली बालिकाका पक्षमा वकालत गरिन् । ०६५ मा देशलाई कमलरी मुक्त घोषणा गर्न र उनीहरूको संरक्षण माग लिएर राष्ट्रपति, प्रधानमन्त्री, गृह, शिक्षामन्त्रीलगायतलाई भेट्न उनले पटकपटक अगुवाइ गरिन् । ०७० जेठमा काठमाडौंमा भएको बृहत् आन्दोलनमा उनले संघर्ष समिति सहसंयोजक भएर आन्दोलन हाकिन् । त्यसबेला उनी प्रहरी हस्तक्षेपमा गम्भीर घाइते पनि भइन् ।
साता लामो आन्दोलनपछि सरकार देशलाई कमलरी मुक्त घोषणा गर्न तयार भयो । उनले सन् २०१३ अक्टुबरमा काठमाडौंमा बेलायती पूर्वप्रधानमन्त्रीबाट ‘यूएन युथ करेज फर एजुकेसन अवार्ड’ प्राप्त गरिन् । ‘पुरस्कारले मलाई कमलरी मुक्ति आन्दोलनमा थप ऊर्जा मिल्यो । मेराबारे एक पुस्तक नै प्रकाशित भएको छ,’ उनले भनिन्, ‘पुस्तकको कमाइ मैले कमलरीकै भलाइमा लगाएकी छु ।’
अर्की कमलरी नेता हुन्, मञ्चकी संस्थापक केन्द्रीय अध्यक्ष गंगापरस्पुर ७ लोखरपुरकी मञ्जिता चौधरी । २३ वर्षीया मञ्जिताले कमलरी मुक्ति अभियान, पुनस्र्थापना, कमलरीको शिक्षा, आयआर्जनजस्ता गतिविधिको अगुवाइ गर्दै आएकी छन् । १२ कक्षाको पढाइ सकेकी चौधरीले पश्चिम तराईका ५ जिल्लामा कमलरीबारे नीति निर्माण गर्ने, कार्यक्रम बनाउने, बजेट विनियोजन गर्ने र कार्यान्वयनका लागि अगुवाइ गर्ने जिम्मेवारी ग्रहण गरिसकेकी छन् । उनले मञ्चमात्रै होइन, सहकारीको समेत नेतृत्व गरिन् । विद्यालय पढ्दा नै उनले लमहीमा लावाजुनी बचत तथा ऋण सहकारी संस्था खोलेर सुरुमा कमलरीलाई आत्मनिर्भर बनाउने अभियान थालेकी थिइन् । उनको सहकारीमा मात्रै अहिले २२ लाखको कारोबार छ ।
मावि तहमा पढ्दा नै कमलरीको केन्द्रीय नेता भएकी मञ्जितालाई सुरुमा सबैले केटाकेटीजस्तो ठान्थे तर उनले आफूलाई परिपक्व बनाउँदै लगिन् । उनले सहरकारीको विकास गर्दै सन् २०२० सम्म ग वर्गको बैंक स्थापना गर्ने र त्यसको नेतृत्व गर्ने लक्ष्य लिएकी छन् ।
‘कमलरी परिवारको आयस्तर वृद्धि गर्न एक घर एक सहकारी सदस्य, एक घर एक व्यापारी, एक घर एक रोजगारी नारा दिएर अघि बढिरहेका छौं,’ उनले भनिन्, ‘अब हाम्रा लागि आफैं काम गर्न सक्षम भएका छौं । हामीसँग हजारौं बहिनीहरू साथमा छन् । हाम्रो जीवनमा आएको यो ठूलो परिवर्तन हो जुन कुरा हामीले कहिल्यै सोचेका थिएनौं ।’ अहिले उनी मञ्चको कञ्चनपुर परियोजना सहायक भएर काम गरिरहेकी छन् ।
यिनै अगुवा कमलरीको नेतृत्वमा मुक्त कमलरी नै परिचालन गरी हाल दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १२ हजार ७ सय ७६ कमलरी मुक्त भइसकेको यस क्षेत्रमा क्रियाशील नेपाल युथ फाउन्डेसनका कार्यक्रम संयोजक मानबहादुर क्षत्रीले बताए । त्यसमध्ये ५ हजार ४ सय ५७ कमलरी १ कक्षादेखि स्नातक तहसम्म अध्ययन गरिरहेको उनले जानकारी दिए ।
साभार कान्तिपुर दैनिक
Facebook Comment