surya bcसूर्य बी. सी.- झण्डै पन्ध्र बर्ष भएछ गाउँमा माघी नमनाएको। अर्थात् गाउँका बाल सखाहरूसँग नजिकबाट भेटघाट गर्न नपाएको, मनभरि–भरि मिठा–मिठा बात मार्न नपाएको। अथवा यसरी भनुँ चोखो गाउँले मायाको मीठो अनुभुति गर्न नपाएको। गाउँका मेरा थारू समुदायका आत्मीय साथीहरूका निश्चल बोली, निर्दोषपन, आत्मीयता, न्यानो स्वागतले निथ्रुक्क भिजेँ म यसपाली २०७० को माघीमा।
एसएलसी पछि साइन्स पढ्ने भुतले सतायो। त्यो भन्दा बढ्ता मेरो ठूल्दाइको प्रेरणा, साथ र सहयोगले काम गर्‍यो। बिद्यार्थी जिवन, खर्च पुर्‍याउन धौ धौ भएको बेला कहाँ जान सक्नु र महिनै पिच्छे गाउँ! अतः चाहेर पनि जान सकिनँ। मन थामेर बसेँ। दुःख गर्दै, बोर्डिङ् स्कुलका कडा प्रशासनका बिच पढाउदै काम गर्दै पढाइ पूरा गरेँ। आफुलाई खार्दै अगाडि बढेँ । समय क्रममा घरजम गरेँ। खर्च बढ्यो। उता गाउँमा बा–आमालाई सक्दो आर्थिक सहयोग गर्नै पर्‍यो। पाखण्ड बन्न हुँदैन भन्ने थाहा थियो। त्यसैले बन्न सकिनँ, र बन्ने पनि छैन।
दङ्गाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा तथा मेरा सहोदर ठूल्दाइ घनश्याम बुढाथोकीको योगदानलाई जीवन्त राख्न र उहाँको निष्ठापूर्ण राजनीतिको सम्झना कायम गर्न उहाँको नाममा स्मृति प्रतिष्ठान गठन गर्ने उदेश्य अनुरुप म मध्य पुसको जाडोमा दाङ पुगेको थिएँ। दौडधुप गर्दा गर्दै माघी नजिकिएर आयो। आमाले पनि वारम्वार भनिरहनुभयो, “माघे संक्रान्ति मानेर जालास् बाबु, गएपछि आउने कहिले कहिले!” म भने काम सकिएमा गइहाल्ने कुरा दोहोर्‍याई रहेको थिएँ, किनकी मैले स्कूलमा पढाउनु थियो। बिद्यार्थीको पढाई छुट्ने डर थियो। एसएलसी पनि नजिकिदै थियो।
आखिर आमाले चाहेको जस्तै भयो। र, त्यही संयोगले यसपाली माघे संक्रान्ति घरमै मनाउन पाएँ। माघी गाउँमै मनाउन पाएँ। यो मेरा लागि ठूलो संयोग हुनगयो। माघीको ढिक्री, रोटी खाँदा पुराना दिनहरूको यादले चिमोट्यो। थारू नाच उस्तै रमाइलो। जाँड खाएर ठट्टा मजाक गर्दै हिँडेका थारू युवाहरू। यी सारा कुरा छन् त गाउँमै। जति आत्मीयता छ, त्यहि छ। मेरो कर्मथलो राजधानी शहरमा त्यो कहाँ पाउनु।
यसै मेसोमा गाउँका प्रिय साथीहरू रामबहादुर चौधरी, हरिनारायण चौधरी, सान्तुलाल चौधरी आदिसँग भेटघाट भयो। पुराना दिनहरूबारे भलाकुशारी भए। कौराको वरिपरि उभिएर आफू जन्मेको प्यारो गाउँ, बस्ती, खेतबारी, बन, पाखा, खोला जहाँ जहाँ डुलि हामीले आफ्ना जीवनका महत्वपूर्ण समय बिताएका थियौं। यी सबै सबैका बारे कुराकानी भए। हाम्रा स्मृतिमा कहिं कतै स्थायी रुपले सुरक्षित बसेका ती पुराना दिनहरूका यादले बास्तवमै हामीबिच शुन्यता ल्याइदियो केहीबेर।
साथीहरूले गुनासो गरे, यतै दाङ आउनुपर्‍यो। यतै कमाउनु पर्‍यो। गाउँलाई बिर्सनु भएन। गाउँलाई हेर्ने मान्छे भएन। नेताले झन् वास्तै गरेनन्। हाम्रा लागि केहि गर्न सक्ने घनश्याम दाइ पनि रहनु भएन। अव त झन्् खतम भयो। पढेलेखेका मान्छेले पनि गाउँ छोडि जाने भए। युवाहरू बिदेश जान बाध्य भैरहेका छन्। के हो गाउँलाई बिर्सिने? हाम्रा कुरा भनसुन गरिदिने, हामीलाई सरसहयोग गरिदिने पढेलेखेका मान्छेहरू कोही भएनन्। भएका जति सबै घोराही सदरमुकामतिर लागे। सुख सुबिधातिर लागे। फेरि तिनले आफ्नो दुनो सोझ्याउने बाहेक अरु केही गरेनन्।
साथीहरूले गुनासा, चिन्ता एवम् आशा यसरी सुनाए कि मानांै म नेता हुँ, मन्त्री हुँ, प्रधानमन्त्री नै हुँ र मैले चाहं भने यी सबै पूरा गर्न सक्छु। उनीहरूका दुःख म सजिलै हरण गर्न सक्छु। उनीहरूका कुराले म रन्थनिएँ। मलाई एकदमै लज्जाबोध र उत्तिकै जिम्मेवारीबोध पनि भयो। मलाई पनि लाग्यो गाउँको माया गरिदिने कोही भएन। गाउँको साँचो अर्थमा चिन्ता गरिदिने अब कोही रहेन। त्यसैले त गाउँ उराठ भएको छ। एक्लो भएको छ। गाउँले किसान मजदुरका पक्षमा काम गर्ने, उनका निम्ति बोलि दिने खासै मान्छे छैन। maghi-1
साथीहरूसँग जे जति कुराहरू भए, जे जति गाउँबारे चिन्ता भए ती सार्थक चिन्ता हुन्। ती जायज बिषयहरू हुन्। छोटो बसाईमा मन फुकाएर, धक फुकाएर भित्री मनले चाहे जति कुरा गर्न नपाए पनि हामीबिच असाध्यै गम्भिर कुराकानी भए। मैले भित्री मनदेखि पनि सोचें कि अबका दिनहरूमा कम्तिमा आफ्नो अनुकुल हुने बित्तिकै या भनांै कामबाट बिदा मिल्ने बित्तिकै गाउँ जानेछु। साथीहरूसँग गर्न सकिने र गर्नैपर्ने कामबारे छलफल चलाउने छु। सकेजति अब अवश्यै गर्नेछु। म यसपाली जरुर एउटा गहिरो सोचाईमा डुबे कि मैले अव सक्दो केही गर्नैपर्छ। अहिले नगरे कहिले गर्ने? मैले नगरे कसले गर्ने? मेरो मनमा यस्तै यस्तै प्रश्नहरू सलबलाउन थालेका छन्। समाजसेवा गर्ने मेरो तीव्र चाहना झनै सल्बलाउन थाल्यो त्यसपश्चात।
आखिर आफ्नो जन्मेको ठाँउलाई पनि केही गर्न नसक्ने हामी किन ठूला कुरा गर्दै हिड्छौ हँ? नेता, कवि, लेखक, कलाकार, डाक्टर, इन्जिनियर, सचिव, सरकारी जागिरे आदि आदि अनेक आभुषणमा हामी मपाईत्व देखाउछांै। अरुका अगाडि धनका धाक लगाउछौं। सबैले देख्नेगरि चोकमा महल ठड्याउछौं। आदर्शका लम्बेतम्बे गफ गर्छौ। सर्बत्र पहुँच भएको देखाउँछांै। तर बदलामा आफ्नो समाजका लागि, आफ्नो गाउँका निम्ति एक रुपैया सहयोग गर्न चाहदैनौं। वास्तवमा हामी चरम स्वार्थी र अवसरबादी भएका छौं। हामीले आफ्नो गाउँप्रतिको, आफ्नो समाजप्रतिको त्यसैगरि आफ्नो माटोप्रतिको कर्तब्यबोध गर्न सकिरहेका छैनौं या त बोध भइकन पनि हामी आ–आफ्ना ठाउँबाट गर्नुपर्ने योगदानलाई भुलिरहेका छौं। आखिर कतिञ्जेलसम्म हामी कानमा तेल हालेर बस्न सक्छौं र?
फेरि काठमाडौं फर्केको त छु। तर उही दुःखको संसारमा न सामेल भएको छु। मन भारी भएको छ। अह यहाँ फर्केकोमा मन पटक्कै खुशी छैन। कोठामा बसेको छु, मनभरि गाउँकै सम्झना अटेस मटेस भएर बसेको छ। यता काठमाडौं शहरमा बर्षौसम्म मनाएको माघी भन्दा त आफ्नै गाउँमा मनाएको माघी कैयौ गुणा भारी लागेको छ। यहाँ खाइने घिउ, चाकुको स्वाद भन्दा त मेरो गाउँकै स्वादहीन (मिठाई नहालेको) ढिक्रीले जिते मेरो मन यसपाली। यसो भनांै तन यता मन चाहि त्यता। गाउँले न हुँ म। गाउँकै घाम, पानी, हावा अनि अन्नले बनेको छ मरो तन, मेरो मन। हरपल हरबखत गाउँकै याद। छोटो बसाई पनि यति प्रभावकारी। खै किन यस्तो हुन्छ? बितेका पलहरूले चिमोटी रहेछ मेरो मन। कुनै प्रेमिकाको यादले प्रेमीलाई सताएझै एकप्रकारको उदासी र शुन्यताबोध भैरहेछ।
म निराश चाँहि पक्कै भएको छैन। बदलामा मनमा गहिरो गरि आत्मविश्वास बढाएको छु। आफैसँग दृढ संकल्प गरेको छु कि गाउँ नबिराई समय मिलाएर गइरहने छुँ। गाउँका साथी अनि आफन्तसँग भेटघाट गरिरहने छुँ। उनका सुख दुःखमा सामेल भइरहने छुँ। गाउँका आत्मीय बालसखाहरूसँग उतिबेलाको जस्तै गहिरो सम्बन्ध बनाउनेछु। नजिक नजिक धेरै नजिकको सम्बन्ध बनाउन म फेरि लाग्नेछु। हो, अब मैले ब्यावहरतः देखाउने बेला आएको छ। मित्रहरू गाउँबारे के तपाईका मनमा पनि यस्तो तुलबुल हुन्छ? यदि हुन्छ भने आउनुहोस् मिलेर गाउँ बनाऔं। आफ्नो गाउँ आफै बनाऔं।
bcsurya@hotmail.com




Leave a Reply

Your email address will not be published. Required fields are marked *