kamalari

देवेन्द्र बस्नेत, दाङ- सात वर्ष अघिसम्म गंगापरस्पुरकी उर्मिला चौधरीको कुनै लक्ष्य थिएन। उनी अर्काको घरमा भाँडा माझेरै जीवन बित्छ भन्ठान्थिन्। कमलरीबाट मुक्त हुने आससम्म उनलाई थिएन। तर, अहिले उनी शिक्षक बन्ने हैसियत राख्छिन्। देउखुरी गढवास्थित जनता क्याम्पसमा स्नातक पढ्दै गरेकी उनी शिक्षिका बन्ने लक्ष्य लिएको बताउँछिन्।  उर्मिला ९ वर्षको हुँदा बाबु बुगराज बिरामी परे। बाबु काम गर्न नसक्ने गरी थला परेपछि घरको गर्जो टार्ने माध्यम उनै बनिन्। उनका ठूलाबुबाले उर्मिलालाई कमलरी बस्न पठाए।
यसरी सुरु भएको उनको कमलरी जीवन ८ वर्ष चल्यो। यो अवधिमा काठमाडौं र दाङका साहु महाजनको घरमा भाँडा माझेको उनी सम्झन्छिन्। ‘काठमाडौं, देउखुरी जताततै कमलरी बसें,’ उनले भनिन्, ‘त्यो जीवन मेरालागि अत्यन्त कष्टकर थियो।’
भाँडा माज्नेदेखि बालबच्चाको दिसापिसाबसम्म धुनुपरेको सम्झँदै उनले भनिन्, ‘दिसा गरेको कपडा धुन घिन लाग्थ्यो, नधोए लछार–पछार गर्थे।’
उर्मिलाका लागि ती दिन नमीठो इतिहास बनेका छन्। कमलरी बस्दासम्म जीवनको कुनै योजना बुन्न नसकेकी उनी अहिलेको जीवनमा उत्साहित छिन्। वर्षौं अर्काको घरमा बस्दा उनलाई उच्च शिक्षा पढ्न पाइएला भन्ने लाग्दैनथ्यो। उनी भन्छिन् ‘आफ्नो जिन्दगी देखेर अचम्म लाग्छ, जीवनमा यति ठूलो परिवर्तन आउला भन्ने सोचेकीसम्म थिइनँ।’
शिक्षा विषयबाट स्नातक पढ्दै गरेकी उनले कमलरीमुक्त भएदेखि नै पढेर केही गर्ने योजना बनाएकी थिइन्।
२०६१ मा उनलाई एफएनसी नामक संस्थाले मुक्त गराएको थियो। एफएनसीकै सहयोगमा उनको पढाइ पनि सुरु भयो। एक कक्षा पनि नपढेकी उनलाई एकैचोटि पाँच कक्षामा भर्ना गरियो तर सधैं पास भएको उनी बताउँछिन्। ‘कुनै कक्षामा पनि फेल नभई यहाँसम्म आइपुगेकी छु,’ उनले भनिन्। उनको पढाइका लागि राज्यले छात्रवृत्ति उपलव्ध गराएको छ। उनले वार्षिक १० हजार छात्रवृत्ति पाउँछिन्।
उनी गाउँनजिकै खोलिएको छात्रवासमा वार्डेन बनेकी छन्। कमलरी बस्दा पैसा देख्नसमेत नपाउने उनी मासिक रुपमा तलब थाप्छिन्। ‘कमलरी बस्दा मालिकले पैसा आफैं लग्थे, मलाई कहिल्यै दिएनन्,’ उनी सम्भि्कन्छिन्। जागिरबाट आउने पैसाले ६ जनाको परिवार पाल्न सहज भएको उनले सुनाइन्।

सिसहनीया भगवानपुरकी अमिता चौधरीले यति छिट्टै जीवन फेरिएला भन्ने सोचेकी थिइनन्। दाङ नारायणपुरमा मालिकको घरमा भाँडा माझ्न बसेकी उनी स्नातक पढ्दै छिन्। लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत उनले पनि शिक्षिका बन्ने लक्ष्य लिएकी छन्। भन्छिन्, ‘शिक्षिका बनेर समाजसेवा गर्छु।’
२०६१ अघिको र अहिलेको उनको जीवन आकाश–पातालझैं फरक छ। घरको आर्थिक अवस्था कमजोर भएको भन्दै बाबु–आमाले नै कमलरी बस्न पठाएपछि उनलाई बाहिर निस्कन पाउने आस थिएन। ‘यतिका पढुँला भन्ने त कहिल्यै सोचिन, कमलरी बसेरै मरिने भइयो भन्ने लाग्थ्यो।’
एफएनसीकै पहलमा कमलरीमुक्त भएपछि उनले ६ कक्षामा पढ्न थालिन्। लगातारको मेहनत र केही गर्छु भन्ने ईखले सफलता दिलाइरहेको उनी बताउँछिन्। ‘कमलरी मान्छे पढेर ठूली भई भन्ने पार्नु छ,’ उनले भनिन्।
उर्मिला र अमिताजस्तै जिल्लाका ३० पूर्वकमलरी अहिले स्नातक पढ्दै छन्। कमलरीमुक्त भएपछि पढ्न थालेका उनीहरु सबैको लक्ष्य छ, धेरै पढेर राम्रो जागिरे बन्ने।
पढाइमा मात्रै नभएर उनीहरू कमलरीमुक्तिको आन्दोलनमा पनि सक्रिय छन्। उनीहरु भन्छन्, ‘हाम्रो शिक्षाको अर्को काम कमलरी राख्नु हुन्न भनेर जनचेतना जगाउनु पनि हो।’
आफैंले कमलरी बस्न पठाएका छोरीहरुको यो सफलताले अभिभावक लज्जित भएको पूर्वकमलरी बताउँछन्। कमलरी मुक्ति आन्दोलनका बेला छोराछोरीलाई कमलरी नराख्न आग्रह गर्न जाँदा हकार्ने उनीहरु अहिले प्रसन्न छन्।
तल्लो तहको पढाइमा गैरसरकारी संस्थाको सहयोग पाए पनि अहिले तिनले सहयोग दिन छाडिसकेका छन्। राज्यले स्नातक तहका लागि छात्रवृत्ति उपलव्ध गराउँदै आएको छ तर त्यो अपुग भएको उनीहरुको गुनासो छ।
‘१० हजारले वर्षको पढाइ खर्च धान्न मुस्किल पर्छ,’ उर्मिलाले भनिन्, ‘ड्रेस, कापी, कलम र किताब किन्न यो रकमले पुग्दैन।’ राज्यले दिएको रकम पनि समयमा नपाउँदा समस्या भएको उनले सुनाइन्।
कक्षा ११ र १२ मा यहाँका झन्डै एक सय पूर्वकमलरी अध्ययनरत छन्। २०५६ देखि सुरु भएको कमलरी आन्दोलनका क्रममा दाङका ४ हजार ५ सय कमलरी मुक्त भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *