सामाचखेवाको रौनक
बर्दिवास- होत्तरीलगायतका मिथिला क्षेत्रका गाउँनगर बस्तीमा अहिले यहाँको लोक सांस्कृतिक पर्व सामाचखेवाको कर्णप्रिय भाखा गुञ्जँदो छ। आफ्ना दाजुभाइको गुणगान समेटेर मिथिलानी (मिथिलाका नारी)ले गाएका कर्णप्रिय गीतले अहिले मिथिलाको परिवेश नै सामाचखेवा पर्वमा रमेको देखिँदो छ।
हमर भैया’क् कोठीमे धान, चुगला कोठीमे भुस्सा…
हमर भैया’क् मुहमें पान, चुगला मुहमे कोइला।
हमर भैया’क् कोठीमे चाउर, चुगला कोठीमे छाउर…
(मेरो दाजुको घरमा भकारीभरि धान, कुरौटेको भकारीमा भुसैभुस। हाम्रो दाजुको मुखमा पान, कुरौटेको मुखमा कोइला (अँगार), हाम्रो दाजुको कोठी (माटाको भकारी)मा चामल, कुरौटेको कोठीमा खरानी।)
कात्तिक शुक्ल पञ्चमी अर्थात् बितेको छठ पर्वको खरनाका दिनदेखि मिथिलाका गाउँनगर बस्तीमा दिदीबहिनीले यी भावका गीतबाट आफ्ना दाजुभाइको गुणगान प्रत्येक दिनरात बस्तीको चौबाटोमा जम्मा भएर गाउन थालेदेखि नै सामाचखेवा पर्वको रौनक उत्कर्षमा देखिँदो छ।
मिथिलामा दिदीबहिनीले आफ्ना दाजुभाइप्रति देखाउने समर्पणको अनुपम उदाहरण सामाचखेवा पर्व रहेको मिथिला लोकसंस्कृतिका जानकार बताउँछन्। कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्व मिथिलानी एकठाउँ जम्मा भएर गाउने यो पर्व रमाइलो खेलसमेत भएको जिल्लाकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्य विषयका सहप्राध्यापक मनोज झा मुक्तिले बताए।
पर्वमा दिदीबहिनीले समूहमा जम्मा भई चकमन्न रातमा सुरिलो भाखामा दाजुभाइको प्रशंसा गर्दै उनीहरूको अहित चाहने चुगला (कुरा लाउने कुरौटे)लाई सत्तोसराप गर्छन्। बोलीचालीमा सामा खेल्ने भनिने गरेको यो पर्वमा मिथिलानीले बाँसको चोयाले बनेको डालीमा बृन्दावनको जङ्ल, कुरौटे, सप्तर्षि र हात्तीघोडासहितको माटाका आकृति राखेर दिनहुँ चुगलाको दाह्रीजुँगा आगोले झोसेर खिल्ली उडाउने परम्परा रहेको अहिले दैनिक यो खेलमा सामेल रहेकी भङ्गाहा–३ थारुटोलकी रसिया चौधरी थारुले बताइन्।
चकमन्न रातमा सामाको डालीमा दियो बालेर दाजुभाइको सौर्य र जाँगरको बढाइँ गर्दै गाइने गीतले दिदीबहिनी नहुनेको मन नै कुड्याएर मेरा पनि दिदीबहिनी भएका भए यस्तै गीत आफ्ना लागि गाउँथे भन्ने यो पर्वले पार्ने गरेको छ। सामाचखेवा पर्वले दिदीबहिनी चाहिन्छ भन्ने सन्देश दिएर लैङ्गिक समानताको वकालतसमेत गरेको मानव अधिकार क्षेत्रमा कार्यरत रहेको महिला सचेतना केन्द्र महोत्तरीकी अध्यक्ष साधना बर्माको धारणा छ।
पर्वकै अवसर पारेर काममा टाढा गएका दाजुभाइ धमाधम घर फर्कन थालेपछि यसको रौनक झनै वृद्धि भएको मिथिलानी बताउँछन्। अघि द्वापर युगमा श्रीकृष्णकी पुत्री सामा र यादवी सेनाका नायक चक्रधर (जसलाई बोलीचालीमा चखेवा भन्न थालियो) बीचको पे्रमबारे एउटा कुरौटेले श्रीकृष्णलाई कुरा लगाएर श्राप दिलाएको कथासँग यो पर्वको प्रचलन जोडिएको बताइन्छ। श्रीकृष्णले छोरी सामालाई स्वच्छन्द प्रवृत्ति अँगालेकी भन्दै उनका प्रेमीलाई समेत चरा बनेर विचरण गरेस् भन्ने श्राप दिएकाले दुवै चराको रूपमा विचरण गरेका प्रसङ्गलाई पर्व परम्पराले समातेको बूढापाका बताउँछन्।
आफ्नी बहिनी र उनका प्रेमी चरा हुनुपरेको घटनाले दुःखी भएका सामाका दाजु साम्बले कठोर तपस्याबाट शिवजीलाई खुसी तुल्याई दुवैलाई पुनः मानव योनीमा ल्याएका पौराणिक कथाका आधारमा बहिनीका लागि कष्ट उठाउने दाजुको सम्झनामा यो अवधिभरि दाजुभाइको प्रशस्ति गाउने चलन बसेको जलेश्वर–७ बजराहीका धर्मशास्त्रका ज्ञाता ७५ वर्षीय मनोहरनाथ पाठकले बताउनुभयो। कथामा साम्बको बहिनीप्रतिको प्रेमले खुसी भएका श्रीकृष्णले उनलाई तिम्रो प्रेम र समर्पणको गाथा अनन्तकालसम्म दिदीबहिनीले गाइरहनेछन् भनेर आशीर्वाद दिएका प्रसङ्गसमेत जोडिएको बताइन्छ।
माहाभारतकालीन पौराणिक कथामा आधारित भएर मनाउन थालिएको यो पर्व कात्तिक शुक्लपूर्णिमाको मध्यरातमा सधैँ सामा खेलिने डालामा राखिएका आकृतिमध्ये वृन्दावनमा आगो लागेको दृश्य बनाएर त्यसलाई निभाउँदै पर्व सम्पन्न गर्ने मिथिला परम्परा छ। सोदिन मिथिलानीहरूले दाजुभाइलाई निमन्त्रणा गरी उनीहरूकै घुँडामा माटाका आकृति राखेर फुटाउन लगाई ती फुटाइएका आकृृतिलाई जोतेको खेतमा मिल्काउन लगाउँछन्।
दिदीबहिनीले पर्व समापन गरेपछि दाजुभाइलाई दही, चिउरा, मिष्टान्न परिकार र सख्खर खुवाउने मैथिल परम्परा रहेको छ। पर्वको समापनमा दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र बस्त्रआभूषण दिँदै आफूहरूबीचको प्रेम कसैले टुटाउन नसक्ने बाचा गरेर उनीहरूप्रति कृतज्ञता दर्शाउँदा आम मिथिलानी हर्षाश्रु बहाउँदै खुसीले उच्छालिएको दृश्यले जोसुकैलाई द्रविभूत गराउने गरेको देखिन्छ।
मिथिलाको लोकसंस्कृतिसँग अभिन्न रूपले जोडिएको यो पर्वमा पछिल्ला वर्षहरूमा भने सहभागिता घट्दै गएको संस्कृतिविद्हरूले औँल्याएका छन्। पछिल्लो पुस्ताले विज्ञान प्रविधिको क्षेत्रमा पहुँच बढाएसँगै लोकसंस्कृतिको जगेर्नामा पनि ध्यान दिनुपर्ने बर्दिवास बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीको सुझाव छ।
-गोपालप्रसाद बराल/रासस
Facebook Comment