आइतबार अर्थात् अट्वारी
सन्जु चौधरी- थारु समुदायका पुरुषहरुको महान् पर्व हो अट्वारी। यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्छन्। यो पर्व तीजको अघिल्लो/पछिल्लो आइतबार पर्छ। आइतबारै मनाउने भएकाले यस पर्वलाई अट्वारी भनिएको हो। यस पर्वमा भेवा (भिम) को पूजा गरिन्छ। भिनसर्या खैना (दर खाने) : अट्वारीको ब्रत बस्ने पुरुषले राति भाले बस्नुभन्दा पहिले नै भिनसर्या खाने चलन छ। भिनसर्यामा माछा, गंगटा र घोंघी खाने चलन छ। यी तीन किसिमको परिकारचाहिँ अनिवार्य रुपमा भिनसर्यामा खाने गरिन्छ। भिनसर्या भाले बास्नुभन्दा पहिले नै खानु पर्छ। यदि भाले बासी सकेपछि खायो भने जुठो मानिन्छ। खाँदाखादै भाले बास्यो भने भिनसर्या नखाएर ब्रत बस्ने चलन पनि छ।
दर खाएको भोलिपल्ट ब्रत बस्ने गरिन्छ। बिहान ब्रत बस्ने ब्रतालुहरुले नुहाइ धुवाइ गरेर भेवाको पूजा गरेर ब्रत बस्ने ब्रतालुहरुले गन्यारी (एक प्रकारको काठ जसबाट आगो निकाल्न सकिन्छ)बाट आगो निकालेर बाल्ने गरिन्छ। त्यही आगोमा ब्रतालुहरुले खाने कुरामध्ये रोटीका परिकार पकाउँछन्। ब्रत बस्ने ब्रतालुले नै सबै परिकार आफैं बनाउँछन्। सबै खाने कुरा बनाइसकेपछि ब्रतालुहरु पुनः नुहाएर भेवाको पूजा गर्छन्। ब्रतालुहरुले खानका लागि एकै ठाउँमा बसेर सबै परिकारहरु सबैलाई भाग लगाउँछन्। जस्तै रोटी, काक्रा, अम्बा, केरा र दही अनिवार्य हुन्छ। सबै भाग लगाएको खाने कुरा सबै जनाले दिदी बहिनीको नाममा काहर्ना भनेको आफ्नो भागबाट बहिनीलाई दिएरमात्र खाने चलन छ। सबै ब्रतालुहरु खाइसकेपछि मात्र घरका अन्य सदस्यले खाने चलन छ।
ब्रत बसेको भोलिपल्ट फलहार पर्छ। फलहारको लागि गुडा, (गेडागुडी) कर्कलो, खेर्या, पवई, कैठा र सुकाको माछा अनिवार्य हुन्छ। फलहार गर्न ब्रत बसेकाहरु नुहाएर भेवाको पूजा गरेर फलार गर्छन्। फलार गर्ने बेलामा पनि दिदी बहिनीका लागि आफ्नो भागको खाने कुराको सबै परिकार निकालेर मात्र खाने चलन छ। ब्रत बस्नेहरुले खाइसकेपछि अरुले खाना खाने चलन छ।
अगरासन भनेको विहे गरेर गैसकेका चेलीहरुलाई फलहार गरिसकेपछि दाजु भाइले दिन जाने कोसेलीलाई अगरासन भनिन्छ। अगरासनमा अघिल्लो दिनको भाग र फलहारको भागमा थपेर दिन जाने चलन छ। यो दिन सबै चेलीहरुको ठूलो आशा हुन्छ। माइतीको कोसेली पर्खेर बसेका हुन्छन्। खोलो वा नदीले छेकेर दिन आउन नसकेपछि त्यति खेर चेलीहरु निकै दुःखी हुन्छन्। अट्वारीमा भेवाको पूजा गरे पनि दिदी बहिनी र दाजुभाइ चको पर्व हो।
Facebook Comment