शंकर पोखरेल- कुनै पनि पुस्तकमाथि समीक्षा वा टिप्पणी लेख्नु निकै गाह्रो काम हो। त्यसैले म समीक्षा वा समालोचनाको कामबाट टाढै रहने गरेको छु। तर पनि आफूलाई मन परेको पुस्तकका कतिपय घतलाग्दा सन्दर्भ लेख्दा वा बोल्दा भने सप्रसंग उपयोग गर्ने गरेको छु। पूर्वसभासद् शान्ता चौधरीले लेखेको ‘कमलरीदेखि सभासद्सम्म’ नामक संस्मरणात्मक पुस्तकका सन्दर्भमा म कार्यक्रममा टिप्पणीकर्ताको रूपमा उपस्थित भएँ। अहिले त्यस सन्दर्भमा केही लेख्ने जमर्को गरिरहेको छु।
शान्तासँगको मेरो परिचय त्यति पुरानो होइन। संविधानसभा निर्वाचनभन्दा पहिले दाङ घोराहीमा भूमि अधिकार आन्दोलनको कार्यालयमा चिनजान भएको थियो। त्यतिबेला आफ्नो कामप्रति निकै उत्साहित र समर्पित साधारण युवतीका रूपमा मैले उनलाई पाएको थिएँ। पार्टीले समानुपातिकतर्फको उम्मेद्वार बनाएपछि भने दाङको प्रचारसभामा सामान्य भेटघाट भयो। त्यतिबेला पनि उनका बारेमा खासै गहिरो जानकारी थिएन। भेट्दा राजनीतिका बारेमा कम जानकार तर आफ्नो एजेन्डाबारे निकै प्रतिबद्ध रहेको अनुभूत गरेको थिएँ। पार्टीको तर्फबाट समानुपातिक सभासद् भइसकेपछि भने धेरै कुरा थाहा हँुदै गयो। संविधानसभामा चार वर्ष सँगै काम गरेपछि उनमा देखिएको आत्मविश्वास र विकासले सबैलाई आकर्षित गर्योु। पार्टीले संविधानसभाको चार वर्षे कार्यकालको समीक्षा गर्ने जिम्मेवारी दिएपछि हामीले शान्ताका बारेमा खुलेर प्रशंसा गर्‍यौं। Shanta Chaudhary and Jhalnath khanal
श्वेतपत्र प्रकाशित भएपछि त्यसका बारेमा मिश्रित प्रतिक्रिया आए। कतिपयले अत्यन्त राम्रो भने कतिपयले भने एकजना व्यक्तिको मात्र नाम उल्लेख नगरेको भए हुन्थ्यो पनि भने। तर अहिले कमलरी देखि सभासद्सम्म भन्ने किताव प्रकाशित भए पछि भने शान्ता धेरैको प्रशंसाको पात्र वनेकी छिन्। मानिसहरुले खुलेर उनको प्रशंसा गरिरहेका छन्। मेरो विचारमा उनको जीवन संघर्षको कथा र व्यथा वुझ्नेहरुले गर्नैपर्ने कर्तव्य पनि हो। म पनि त्यही कर्तव्यवाट डोरिएर केही लेख्न खोजिरहेको छु।
आठ वर्षको उमेरदेखि १८ वर्षसम्म कमलरी जीवन बिताएकी, मुक्त भएपछि कठिन संघर्षमा हिँड्न विवश शान्ताले भूमिअधिकार आन्दोलनका माध्यमबाट नेपाली समाज र राजनीतिक क्षेत्रको ध्यान आफूतिर आक्रोशित गर्न सफल भइन्।
त्यसै क्रममा उनी नेकपा (एमाले)को नजिक पुगिन्। समानुपातिक तर्फबाट सभासद् हुँदै प्राकृतिक स्रोत तथा साधन समितिको सभापति बनिन्। भूमि अधिकार आन्दोलनमा लाग्ने क्रममा मुस्किलले हस्ताक्षरसम्म गर्न सकेकी उनका लागि उक्त जिम्मेवारी कम्ती कठिन र चुनौतीपूर्ण थिएन। तर उनले त्यसलाई चुनौती र अवसर दुवै रूपमा स्विकारिन्। त्यसमा उनी नाटकीयजस्तै लाग्नेगरी सफल भइन्। जसले उनको व्यक्तित्व र आत्मविश्वासलाई एकसाथ बाहिर ल्याइदिएको छ।
उनको पुस्तकले उनलाई र नेपाली राजनीतिको सकारात्मक बिम्बको रूपमा स्थापित गरिदिएको छ। त्यसबाट उनलाई अघि बढ्न लागि नयाँ राजमार्ग तयार भएको छ। हिजो अविश्वासवाट सुरु भएको उनको यात्रा अब अपेक्षा र विश्वासको नयाँ चुनौतीका रूपमा खडा भएको छ। त्यसमा उनी उनी सफल नै हुने विश्वास जीवनसंघर्षको कथा पढ्दा जो कोहीले अनुभूत गर्न सक्छ।
पुस्तकले अवसरवाट वञ्चित भएकाहरूका सन्दर्भमा एउटा आत्मविश्वासले भरिएको प्रेरणा र जीवनदर्शन एकैसाथ दिएको छ। त्यसमाथि उनको जीवनसंघर्षका अनुभूतिमा लुकेर बसेको मानवीय मनोविज्ञान र जीवनदर्शन जो कोहीका लागि प्रेरणाको विषय बन्न सक्छ। यहाँ पुस्तकमा समेटिएका त्यस्तै केही महŒवपूर्ण विचार तथा भावलाई उनकै भाषामा उल्लेख गर्नु सान्दर्भिक हुनेछ।
किताब लेख्ने प्रेरणा
यो किताब (जीवन काँडा कि फूल) पढेपछि मेरो दिमाग रन्थनियो। झमककुमारीको पीडा र संघर्ष एकातिर, अर्कोतिर मेरो पनि उस्तै कथा–व्यथा। झमक अशक्त अवस्थामा रहेर त यति राम्रोसँग आफ्ना व्यथा उतार्न सक्छिन् भने मैले पनि केही गर्नुपर्छ भन्ने लाग्यो। किनकि देख्नेका दृष्टिमा म सबलांग थिएँ। अनि मैले भोगेको संसार पनि कम्ता पीडादायक थिएन। त्यसैले मेरा भोगाइ पनि सबैका सामु ल्याउनुपर्छ भन्ने निष्कर्षमा पुगें म। यसैबीचमा आनीको किताब पनि पढें। यसले पनि मलाई किताब लेख्ने पृष्ठभूमि तयार पार्न सघायो।
मेरो सिकाइ
साँझ बिहान आमा जमिनदारहरूले खाएको जुठो भाँडा मा‰न खोलामा जानुहुन्थ्यो। म पनि पछिपछि लागेर जान्थें। आमालाई सघाउँथे। आमाले लुगा भिजाउँछे भनेर मलाई उठाएर ढिकमा बसाउनुहुन्थ्यो। फेरि म दौडेर आमासँगै जान्थे र भाँडा मा‰दै गरेको खरानी खेलाउँथें। खरानीमा भेटिएको गोल मुठीमा लुकाउँथे। अनि जमिनदारको घरमा पुगेपछि घरका भित्तामा जे मनमा आयो त्यही कोरिदिन्थंे। लाग्थ्यो, मेरा लागि कलम, कापी र लेख्ने पाटी त्यही भित्तो थियो। कोइलाको टुक्रा मेरो चक र खरी हुन्थ्यो।
पीडा र छट्पटी
आफ्ना सन्तानलाई शोषण र पीडाको भासमा जाक्ने रहर कुन आमाबाबुलाई होला र? त्यसको विकल्प पनि त थिएन उहाँहरूसँग। छोराछोरीको पीडा देखेर आमाबाबु पनि राति अबेरसम्म रुनुहुन्थ्यो। रुवाइले पनि पीडा सह्य नभएपछि राति नै उठेर हुक्का तान्नुहुन्थ्यो र छट्पटाउनुहुन्थ्यो। हामी पनि उहाँहरूको छटपटाहट महसुस गर्थ्यौं तर केही भन्न सक्दैनथ्यौं। हुक्काको सर्को नै एकछिनका लागि भए पनि हलुका महसुस गर्ने उपाय थियो आमाबाबुको।
कमलरी जीवनको यात्रा
पहिलो दिन भएर होला। आमाले मलाई बाटैभरि कुरा सिकाउनुभयो। सम्झाउनुभयो। जमिनदारको परिवारमा सबैलाई हजुर, तपार्इं भन्नू। आफूभन्दा सानो उमेरकै भए पनि हजुर नै भन्नू। उनीहरूले तिमीलाई जिस्काए, पिटे, जे गरे पनि चूप लागेर काम गरिदिनू। मुख नलाग्नू। अह्राएको काम गर्नू। केही काम आफैं पनि बुझेर गर्नु– यस्तै–यस्तै कुरा थिए मलाई आमाले सिकाउनुभएको। उहाँले यस्ता कुरा सिकाइरहँदा मेरो मनमा भने अनेकौं जिज्ञासा आइरहेका थिए– किन सानालाई पनि मान्नुपर्ने होला? किन उनीहरूले पिटे पनि सहनुपर्ने होला? किन अन्याय गरे पनि बोल्न नपाइने होला? आदि–आदि। तर पनि मैले आमाका अगाडि खोई किन हो कुन्नि, यी जिज्ञासा आमासमक्ष व्यक्त गर्न सकिनँ।
अधुरो खुसी
फागुन–चैतको महिना दाङको चौघेरामा बर्सेनि फिरफिरे मेला लाग्थ्यो। भोलिपल्ट मेला थियो। गाई, भैंसी चराउन गएका हामी सबै कमलरीबीच मेला हेर्न जाने कुरा भयो। साँझ आ–आफ्ना मालिकनीलाई सोध्ने योजना बनायांै। मैले पनि आफ्नो मालिकनीसँग डराई–डराई मेला हेर्न जान्छु है भनेर सोधें। उनले सबै काम सकाएर जानू, तर साँझ चाँडै फर्कनू भन्ने आदेश दिइन्। मेला हेर्न पाँच रुपियाँ हातमा थमाइदिइन् पनि। त्यो पैसा पाएर म निकै फुरुङ्ग भएँ।
दुःख र विवशता
भैंसीलाई पानी खुवाउन लगिरहेको बेला एउटा ट्रक आयो। ट्रक देख्नेबित्तिकै भैंसी बिच्कियो। अरूको खेततर्फ कुलेलम ठोक्यो। भैंसी समात्न दौडँदा–दौडँदै मेरा खुट्टा रक्ताम्य भए। नहुन् पनि किन? खुट्टा खाली नै थिए। चैतको सुुख्खायाम थियो। खाली खुट्टाले खेतमा दौडनुपर्दा साह्रै असह्य भयो। भैंसी समात्नैपर्ने थियो। भैंसीले अरूको खेतको मुसुरो गहुँ खाइदिएपछि कतिले मलाई गालामा चड्कनसमेत लगाए। पिटाइले गलासमेत सुन्निएको थियो।
मालिक्नीले दिएको पैसा पनि खल्तीबाट कहाँ खस्यो, पत्तै भएन। दिनभर भैंसी समात्नै ठिक्क भयो। साँझ अबेर भैंसी समातेर घर लग्दा मालिक्नी कार्यालय भ्याएर घर आइसकेकी थिइन्। घरमा हेर्दा सबै पानीका भाँडा रित्तै, जुठो भाँडा पनि नमाझेको देखेर आगो भइन्। मलाई बेस्सरी गाली गरिन्। यतिखेर मेला हेरर आउने? छिटो आउनु भनेको थिए, यतिखेर मरिस् भनेर गाली गरिन्। तर मेला भर्ने काम त भैंसीले उडाइदिएको थियो। मालिक्नीलाई के थाहा, मैले दिनभर कति दुःख पाएँ भनेर। मालिक्नीले घरको काम अधुरो देखेर रिसाएकी थिइन्। भैंसी धपाउने मेरो हातको लठ्ठी खोसेर उल्टै मलाई बेस्सरी पिटिन्। पिटेर मात्र पुगेनछ उनले मलाई घिसार्दै आमाकहाँ लगिन्। आमाले पनि गल्ती गरेको भन्दै उल्टै गालामा झापड पड्काउनुभयो। लठ्ठीको पिटाइ एकातिर, आमाको पिटाइ अर्कोतिर, मलाई साह्रै पीडा भयो। धेरै छ्टपटाएँ। तर के गर्नु? निरीह म।
प्रतिशोध
छिटो पानी लिन मर् कुकुर्नी भन्दै माटोको गाग्रो मेरोअगाडि जमिनदारनीले राखिदिइन्। म पनि गाग्रो लिएर बाहिर गएँ। जमिनदारनी घरभित्र पसेपछि गाग्रो एकातिर बिसाएर गोठमा पसें। भैंसीलाई लठ्ठीले सकेजति कुटें। सबै रिस बाँधेको भैंसीमाथि खन्याए। तर मेरो सानो मान्छेको कुटाइले भैंसीलाई कति नै चोट लाग्यो होला र? जे होस्, मैले आफ्नो चित्त बुझाउनेगरी कुटें। अनिमात्र घैंटो लिएर खोलातिर गएँ।
दृष्टिकोण
कमलरीमात्र होइन, सबै प्रथा गरिबीसँग जोडिएको छ। त्यसैले वर्गीय समस्या हल नगरी अरू समस्या समाधान हुन्न। सानातिना सुधारात्मक कार्यक्रमले समस्या टालटुल पार्न सक्लान्, तर समस्या समाधानमा पुर्यााउन सक्दैनन्। अहिलेको मुख्य समस्या पीडा एउटासँग र नेतृत्व अर्कोसँग हुनु हो। त्यसैले पीडितहरू नेतृत्व तहमा पुग्ने अवस्था सृजना नभएसम्म यस्ता समस्या ज्युँका त्युँ रहनेमा शंका छैन। पीडितहरू नेतृत्वमा आएपछि मात्र सही रोगको सही उपचार सम्भव हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *