दिलबहादुर चौधरी- कैलाली दक्षिण टेंढीका गजलकार भाइ सागर कुश्मीले २०७० वैशाख ४ गतेका दिन फोन गरे, सर, कहाँ हो? म सागर कुश्मी बोल्दैछु। म त्यतिबेला भारतको ग्वारीमा बसमा चढिरहेको थिएँ। चैते दशैं, राम नवमीको अवसर पारी म मेरी श्रीमति जीको आग्रहमा श्रीमति र छोरीलाई लिएर हिन्दूहरुको महान तीर्थस्थलमध्येको एक तीर्थस्थल हरिद्वार जाँदै थिएँ। साथमा धनगढीका एक गल्ला ब्यापारी र हार्डबेयर ब्यापारी श्रीबहादुर चौधरी पनि थिए। आवाज ठम्याएँ र भने, भन्नुस् सागर जी। उनले छुट्की पलियामा बैशाख ८ गते आइतबारका दिन ‘थारु साहित्यिक उँकुवार भेट’ कार्यक्रम आयोजना गरिने, जसमा कृष्ण सर्वहारी र सुशील चौधरीको आगमन हुने र मेरो उपस्थिति पनि हुनैपर्ने आग्रह गरे। हुन्छ, म साह्रै ब्यस्त छु, समय मिल्यो भने पक्कै आउँछु, यदि आउन सकेन भने अन्यथा नलिनुहोला भनी आश्वस्त पारें।

कबुल वाचा अनुरुप थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधव थारुसँग छुट्की पलिया जाने सल्लाह भयो। पत्रकारितामा थारुमा सब भन्दा अगाडि रहेका, प्रा.बि. तहका लागि थारु भाषामा पुस्तक लेखिसकेका कृष्णराज सर्बहारी, औंलामा गिन्ती गर्न सकिने नेपालका केहि प्रशिक्षकमध्येका एक मानिने, गायन र लेखनमा पहिचान बनाइसकेका सुशिल चौधरी, समय मिलाई काठमाण्डौबाट कैलाली आउन सक्ने, तर थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी जिल्लामै जान नसक्ने हो भने दुनियाले के भन्ला? यसको जवाफ तपाईहरुसँग छ। कुनै बेला लोक लज्जाको डरले पनि मान्छे काम गर्दो रहेछ। लोक लज्जाले धेरैलाई राम्रो मान्छे बन्न पनि सहयोग पुर्‍याउँदछ। नढाँटी भन्ने हो भने कार्य ब्यस्तताका बाबजुद पनि लोक–लज्जाकै डरले बैशाख ८ गते बिहान माधव, ट्राशन दैनिकका सम्पादक मुकेश टेर्रा र म, नास्ताको रुपमा मेरै घरमा पाकेको खाना अलिअलि बाँडचूँड गरी खायौं र लाग्यौं। छुट्की पलिया पुग्दा, कृष्ण सर्बहारी र सुशिल चौधरी आइसकेका थिए। सिर्जना समाज र छिट्कल थारु साहित्यिक समाजका भाई–बहिनीहरु बडो तामझामका साथ तयारीमा जुटेका थिए। खाना पश्चात कार्यक्रम शुरु भयो। कृष्णराज सर्बहारी प्रमुख अतिथि, सुशिल चौधरी बिशिष्ट अतिथि र लेखक, कवि, साहित्यकार, पत्रकार, गीतकार, गायक, संचारकर्मीहरु अतिथिका रुपमा कार्यक्रममा उपस्थित भयौं।

म यो भन्दा अगाडि दक्षिण टेंढीको साहित्यिक कार्यक्रममा सहभागी भएकोले कार्यक्रम नराम्रो सोचेको थिएन र भयो पनि राम्रो। टेंढीको कार्यक्रममा अधिकांश गजल, मुक्तक, माया, प्रेम, सुन्दरता जस्ता श्रृङ्गारमा आधारित थियो भने छुट्की पलियाामा केहि कबिता, गजल, मुक्तक प्रगतिबादी थियो। समसामयिक सवाललाई समेट्न सफल भएको थियो। रामु राजा, सागर कुश्मी, मोतिराम चौधरी लगायतका गजलकारहरुका गजलले श्रृङ्गारिक भावनालाई आत्मैदेखि उजागर गरेको थियो भने गायक, गायिकाले गीत गाएर दर्शकहरुलाई मन्त्रमुग्ध पारिसकेका थिए। जीतबहादुर थारु ट्राशनले लेखेको …याद राखोस्, काठमाण्डु’ शीर्षकको रोशपूर्ण गद्य कविताले त्यहाँ उपस्थित धेरैको रौंलाई खडा गरिदिएको थियो। कविताले सुदूरपश्चिमेली शासक जातिहरुले थारुमाथि गरेको एकलौटी राज, अन्याय–अत्याचार र राज्य संयन्त्रमा प्रवेश गर्नबाट रोक्न अघोषित रुपमा लगाइएको प्रतिबन्धबिरुद्ध …ट्राशन’ ठोकेको थियो। दाङ्गका संचारकर्मी एवं साहित्कार छविलाल कोपिलाले उदीयमान साहित्यकारहरुलाई श्रृङ्गारिक गजल, मुक्तकमा मात्र सीमित नरहन सुझाव दिएका थिए। म पनि अतिथिको रुपमा ‘माँगर’ गाउने अवसर पाएको थिएँ। त्यतिबेलै अर्थात २०७० बैशाख ८ गते नै बिशिष्ट अतिथि सुशिल चौधरीले कैलालीका साहित्यकारहरुमा ठूलो निखार आएको बताउँदै कैलालीलाई ‘सलाम’ गरेका थिए। प्रमुख अतिथि कृष्णराज सर्बहारीले सागर कुश्मीको “आँशके सागर” र मोतीराम चौधरीको “मनके बोझा” गजल संग्रहको बिमोचन गर्दै कैलालीका साहित्यकारहरुका प्रस्तुतीले थरुहट जागिसकेको उदघोष गरेका थिए। साथै उनले थरुहट र थारु कल्याणकारिणी सभाका पदाधिकारीहरुलाई जीतबहादुर चौधरी जस्ता स्रष्टा (ट्राशन) लाई लिएर कार्यक्रममा हिंड्नुपर्ने सुझाव दिएका थिए।

त्यो कार्यक्रममा सर्बहारी जीले काठमाण्डौं आउँदा भेट्नुहोला, म तपाईको लागि ‘मधेश बाणी’ पुस्तक पहुराको रुपमा राखेको छु, भनेका थिए। भाग्यवश कार्यालयको काम बिशेषले म दोलखाको चरिकोट पुगेको थिएँ, त्यहाँबाट काठमाण्डु फर्कंदा उनलाई भेट्न फोन सम्पर्क गरें। उनले २१ गते शानिबार बिहान त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा थारु कविहरुको ‘कविता श्रृङ्खला’ संचालन हँुदैछ, त्यसमा आउनुस्, हाम्रो भेट हुन्छ, म पहुरा (कोसेली) त्यहीं दिन्छु भने। हामाकारी भरिसकेपछि म बिहान त्यहाँ पुगें। बिश्वबिद्यालयको हाताभित्र पसिरहँदा मलाई कस्तो–कस्तो नौलो अनुभव भैरहेको थियो, किन कि त्यस हाताभित्र मेरो त्यो पाईला टेकाई पहिलो थियो। कविहरुको भेलामा आफू गइरहेको सम्झेर झन कसोकसो लागिरहेको थियो। भित्र पसियो, क्षेत्रफल ठूलो भएकोले कार्यक्रम कहाँ हो, थाहा पाउन सकिएन। कार्यालय अगाडि पुगेपछि एकजनालाई सोधें, उनले थााह पाएनन्। कार्यक्रम कहाँ हो भनी फेरी सर्बहारीलाई फोन गरें, घडीघरतिर आउनुस् भने, मलाई घडीघर पनि थाहा थिएन। सीधा आएर उत्तरतिर लाग्नुहोला भनेपछि त्यही गरियो। म पुग्दा धेरै साथीहरु, भाई–बहिनीहरु त्यहाँ पुगिसकेका थिए। कृष्णराज सर्बहारीले शत्रुघन चौधरीको सभापतित्वमा कार्यक्रम संचालन गरे, बिशिष्ट अतिथि बर्दियाका बालिका चौधरीलाई र मलाई प्रमुख अतिथि बनाएर राखिदिए। थारु युवा परिवार, सर्वहित समाज नेपाल र बर्दियाली थारु विकास मञ्चको संयुक्त आयोजनामा परिचयसहित कार्यक्रम शुरु भयो।

बर्दियाली थारु समाजका अध्यक्ष सीताराम चौधरीले स्वागत गरे। सर्बहारी जीले साहित्यिक यात्राको समिक्षा गर्न सुशिल चौधरीलाई अनुरोध गरे। उनले कैलालीको छुट्की पलियामा जे दोहोर्‍याएका थिए, त्यही कुरा समिक्षाको क्रममा किर्तिपुरको ‘थारु कबि जमघट’ मा पनि दोहोर्‍याए। उनले बर्दियाको सगुनलाल स्मृति प्रतिष्ठानले कैलालीका जोखन थारुलाई मरणोपरान्त पहिलो ‘सगुन स्मृति पुरस्कार’ दिएर सही काम गरेको प्रसंशा गरे र जोखनलाई सलाम गरे। कैलालीको दक्षिण टेंढी र छुट्की पलियामा भएको थारु साहित्यकारहरुको ‘साहित्यिक उँकुवार भेट’ कार्यक्रमलाई सम्झँदै ‘कैलाली थारु साहित्यको उर्बर भूमि’ रहेको बताए र कैलालीलाई सलाम गरे। साहित्यिक कार्यक्रममा कैलालीलाई ‘सलाम’ गरेको देख्दा मेरो छाती, गर्बले फुलेको थियो, शरीरमा एक किसिमको झमझमाहट, तरंग पैदा भएको थियो, रौं खडा भएको थियो। म त्यतिबेलै मनमनै स्वर्गीय थारु साहित्यिकार जोखन चौधरी र थारु साहित्यको उर्बर भूमि कैलालीलाई सलाम गरें। कताकता मलाई नराम्रो महशुश भैरहेको थियो। थारु साहित्यमा त्यत्रो योगदान पुर्‍याइसकेका ब्यक्तिलाई राम्रोसँग नचिन्नु, कैलालीका साहित्यकारहरुबारे राम्रोसँग जानकारी नहुनु मेरो गल्ती हो भन्ने कुरालाई मनमनै स्वीकार गरें।

कवि जमघटमा बर्दियाको पहिलो र दाङ्ग–देउखुरीको उपस्थिति दोश्रो नम्बरमा थियो। अन्य जिल्लाको उपस्थिति प्रतिनीधिमूलक थियो। त्यहाँ क्रमशः राकेश चौधरी (टार्जन), मनोज हर्दिउला थारु, सीताराम चौधरी, निशा चौधरी, योगेश चौधरी, प्रसादु चौधरी, दोषहरण चौधरी, खुशीराम चौधरी, नन्दु चौधरी, शिबबहादुर चौधरीले कविता, गीत, गजल, कथा प्रस्तुत गरेका थिए। एकसा एक कविता, गजल, गीत, कथा सुनियो। निकै उत्साहजनक लाग्यो। मलाई त मोहनी नै लगायो कार्यक्रमले। धेरैसँग चिनजान गर्ने अवसर पनि मिल्यो। त्यसैले म त आफूलाई भाग्यमानी सम्झें। तर अन्तिममा मलाई पनि खट्क्यो कि यस्तो राम्रो कार्यक्रम, यस्ता राम्रा गीत, गजल, कविता, कथा कुनै पत्रिकामा प्रकाशन भएको भए, त्यसको मज्जा बेग्लै हुन्थ्यो।

अन्तिममा के मात्र भनौं भने कृष्णराज सर्बहारीद्वारा शुरु गरिएको कविता श्रृङ्खला कबिता, गीत, गजल, कथा वाचन गर्ने मञ्च मात्रै होइन, यो थारु कवि, गजलकार, गीतकार, कथाकारहरुमा निखार ल्याउने,  एक–आपसमा राम्रो सम्पर्क, समन्वय र संचारको काम गर्ने माध्यम पनि हो। यसले यतिबेला उठिरहेको भाषा बिबिधता, संस्कृति/परम्परा बिबिधताको बहसलाई बिस्तारै मत्थर गर्ने र मानक भाषाको बिकासमा पनि टेवा पुर्‍याउन सहयोग गर्छ। त्यसैले कविता श्रृङ्खलाले निरन्तरता पाओस्, धन्यवाद!




Leave a Reply

Your email address will not be published. Required fields are marked *