वीरेन्द्र कर्ण, जनकपुरधाम- मिथिला परम्परा र संस्कारअनुसार राम–सीताको विवाहोत्सवको रुपमा मनाइने विवाहपञ्चमी विश्वकै सबभन्दा ठूलो विवाहका रुपमा रहेको छ। करिब नौं लाख वर्ष पूर्व त्रेतायुगको मार्गशीर्ष शुक्ल पञ्चमी तिथिमा भगवान श्री राम–सीताको विवाह सम्पन्न भएको थियो। सोही विवाहलाई जीवन्तता दिन मिथिलावासीद्वारा प्रत्येक वर्ष विवाह पञ्चमी मनाइने गरिन्छ।
“विश्वमा मिथिला परम्पराअनुसार यस्तो विवाह कहीँ हुँदैन”– जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भन्नुहुन्छ– यस्तो विवाह मिथिलामा मात्र हेर्न सकिन्छ र यो विवाहलाई ‘ब्राह्म विवाह’ भनिन्छ।
यस्तो भनिन्छ कि सीता भगवान् श्री रामभन्दा नौ वर्ष कान्छी थिइन्। राम सीताको विवाहको दिन सोमबार हो र यो दिन नक्षत्र पनि श्रवण हो। यो तिथिलाई विवाह पञ्चमीको नामले जानिन्छ।
मिथिलावासीले जानकीलाई छोरीको सङ्ज्ञा दिएकाले आफ्नो छोरीको विवाहमा आइदिन जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सभासद् तथा छिमेकी राष्ट्र भारतको अयोध्यानगर, काशी, वृन्दावनलगायत धार्मिक स्थलमा निम्तो पठाइएको जनाए।
अयोध्याको लक्ष्मण किलाका महन्थ मैथिल शरणको नेतृत्वमा जन्ती आएको छ भने विवाहपश्चात् ती जन्तीलाई मिथिला परम्पराअनुसार बिदाइ गर्दा धोती, गन्जी, गम्छा, पाग दिएर बिदाइ गर्नेछन्।
विवाहको अन्य विधि मटकोर हो जसमा बेहुला बेहुली दुवै पक्षलाई विवाहको निम्तो दिइन्छ। जानकी मन्दिरको उत्तरमा रहेको पवित्र अरगजा पोखरीमा मटकोरको विधि पूरा गरिन्छ। माटोमा सीताद्वारा दुबो, धानले पूजा गरिन्छ। त्यो माटोले बिहेका लागि मड्वा बनाइन्छ।
विवाहको अर्को पक्ष हो स्वयम्बर। राममन्दिरबाट जन्तीपक्षको डोला निस्कन्छ भने जानकी मन्दिरबाट केटीपक्षको रथ निस्कन्छ। दुवैपक्ष बार विघामा जम्मा हुन्छन्। त्यहाँ स्वयम्बर विधि सम्पन्न हुन्छ र दुवै डोला पुनः जानकी मन्दिरमा आउँछन्।
विवाह पञ्चमीको महत्वपूर्ण पक्ष भनेको विवाह हो। भव्यरुपमा सजाइएको विवाहमण्डप (मड्वा) मा विवाहको सम्पूर्ण विधि हुन्छ। जानकी मन्दिरबाट रामसीताको मूर्ति ल्याएर श्रद्धापूर्वक पूजापाठ गरिन्छ। राम–सीताको मूर्ति ल्याएर श्रद्धापूर्वक पूजापाठ गरिन्छ।
मैथिली विधि विधानअनुसार जानकी मन्दिरमा मूल पुरोहितद्वारा मन्त्रोच्चारण गरी विवाह विधि सम्पन्न गरिन्छ। यस अवसरमा मैथिली नारीहरु विवाह गीत गाउँछन्।
अन्त्यमा आरतीपश्चात् राम–सीताको विवाह सम्पन्न हुन्छ। राम–सीताको विवाह महोत्सवले त्रेतायुगको सम्झना गराइदिन्छ भनी मिथिलावासी भन्छन्। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *