हिमांशु चौधरी, जनकपुरधाम- मैथिली भाषाका महाकवि विद्यापति ठाकुरको स्मृति दिवस देशका विभिन्न स्थानमा आजदेखि मनाउने क्रम सुरु भएको छ। सामान्यतः विद्यापति स्मृति दिवस विविध कार्यक्रमसहित एक महिनासम्म मनाइन्छ। मैथिली साहित्यका श्रष्टा विद्यापति कविकोकिल रहेका छन्। उनी नेपाली नभए पनि उनको कार्यक्षेत्र भने एक युगसम्म जनकपुरधाम नजिक बनौलीमा रहेको प्रमाणित छ। विद्यापतिले साहित्य, संस्कृति र राजनीतिक क्षेत्रमा पनि विशिष्ट योगदान गरी मैथिली भाषाका कृतिमार्फत भारतको ठूलै क्षेत्रमा समेत प्रभाव जमाएको पाइन्छ।

प्राध्यापक डा पशुपतिनाथ झा विद्यापतिको जन्म सन्दर्भमा तथ्यगत भिन्नता देखिए पनि मृत्यु सन्दर्भमा कात्तिक धवल त्रयोदशीलाई स्वीकार गरिएका कारण आजका दिन स्मृति दिवस मनाउने चलन रहेको बताए।
उनका अनुसार विद्यापतिका समयको मिथिलामा भाषा, शिक्षा र संस्कृतिको निकै चहलपहल थियो, त्यसबेला शिक्षा क्षेत्रमा काशी जस्तै मिथिला पनि चर्चित थियो। विद्यापतिको जन्मस्थल भारत बिहारको मधुबनी जिल्लाअन्तर्गत ‘विसपी’ क्षेत्र मानिएको छ। तर उनको कर्म, साधना र सिर्जना भूमि नेपालको पूर्वी क्षेत्र रहेको छ। तत्कालीन मिथिलाको राजधानी ओइनीमा आएर विद्यापतिले संस्कृत साहित्य, न्यायशास्त्र र धर्मशास्त्रको अध्ययन गरे। विद्यार्थी जीवनदेखि नै उनले कविता कर्म थालेका थिए। उनको अध्ययन चिन्तन, व्यवहार र काव्य कौशलबाट प्रमाणित भई ओइनीका राजा शिव सिंहले उनलाई राजपण्डितको सम्मान दिएका थिए। विद्यापति निकै रसिक र जाँगरिला स्वभावका हुनाले प्रशस्त मात्रामा गीत र कविताको रचना गरे।
त्यसैबेला राजस्व नबुझाएको आरोपमा दिल्लीका सुल्तान इब्राहिम शाहले राजा शिव सिंहलाई बन्दी बनाए। तर विद्यापतिले गीत–कवितामार्फत आफ्नो प्रतिभाबाट सुल्तानलाई प्रभावित पारी शिव सिंहलाई मुक्त गराए।
त्यसपछि जलालिद्दिनले मिथिलामा आक्रमण गर्दा पनि उसलाई हराउनमा विद्यापतिको विशेष भूमिका देखिन्छ। त्यसको कदर गर्दै राजा शिव सिंहले कविलाई आफू जन्मेको ‘विसपी’ गाउँ दानमा दिएका थिए।

यी घटनाबाट विद्यापतिको सुझबुझ र सशक्त व्यक्तित्वको छनक दिन्छ।

त्यसको केहीपछि फेरि भएको आक्रमणमा राजा शिव सिंहले हारेपछि विद्यापति र रानी राज बनौली (हाल महोत्तरी) का राजा पुरादित्यको आश्रममा गए। पराजय र निर्वासनको घटनाले विद्यापतिको चिन्तनमा परिवर्तन आयो।
विद्यापतिको रचनामा प्रेम, श्रृङ्गारको ठाउँमा आध्यात्मिक चिन्तन र भक्तिधारा प्रवाहित हुन थाल्यो। उनका रचनामा सुप्रसिद्ध विद्वान तथा ‘पीयुषवर्षी’ उपाधिबाट सम्मानित महाकवि जयदेव (बाह्रौं शताब्दी) को विशेष प्रभाव परेको मानिन्छ।
विद्यापतिका प्रेम, स्मृति, नीति, साहित्य तथा भक्तिसम्बन्धी अनेक ग्रन्थ रहेका छन्। ‘कीर्तिलता’ तथा ‘पदावली’ उनका सबभन्दा प्रसिद्ध कृति हुन्। विद्यापति वाङ्मयको संरक्षणको दृष्टिबाट नेपाल अत्यन्त महत्वपूर्ण भूमि रहेको डा रामदेव झा बताए। उनका अनुसार नेपालमा विद्यापति मौलिकरूपमा आदर र संरक्षित छन्। यिनको व्यक्तित्वलाई विखण्डन गरिएको छैन।
श्रृङ्गारपूर्ण कवितात्मक गीतमा विरह र बेदना समान र सरल रूपबाट उल्लिखित गर्नु उनको विशेषता हो। एउटी विरहिणी परदेश गएका आफ्ना पतिको आगमनका लागि कागबाट शुभसन्देश खोज्छिन्, कागले सन्देशको आदानप्रदान गर्ने कुरा जग प्रसिद्ध छ। यसै सन्दर्भमा विद्यापतिले विरहिणीको व्यथालाई यसरी पोखेका छन्–
मोरा रे अंगनवा चन्दनके गछिया
ताही चढी कुररय काग रे!
सोनाके चोंच बाँधी देव कागबा
गहुँ पहु आबत हमार रे!

यसको भावार्थ हो – मेरो आँगनमा चन्दनको रुख छ, त्यसैमा चढी कराउ काग! मेरो पति आउनु भएपछि तिम्रो थुतुनोमा सुनले बाँधिदिन्छु।
विद्यापतिको कलम संस्कृत र प्राकृत मैथिलीमा समानरूपमा चल्दथ्यो। सरल, सुललित, प्रवाहमय भाषाका कुशल शिल्पी कवि यसरी बग्दथे –
ए सरवी रागिनी कलह निसान
हेरइत पुर मोर सरल निसान
कवि विद्यापति एह रस भान
सुपुरुष परम तुहु भेल जान

विद्यापति मिथिला क्षेत्रमा अहिले पनि अत्यन्त सम्मानित र लोकप्रिय छन्। घरघरमा उनको चर्चा हुन्छ। उनका रचना लोकसाहित्यको रूपमा जनतामा भिजेका छन्। त्यसैले मिथिलावासी उनलाई जनकविका रूपमा पनि मान्छन्। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *