काठमाडौं- वैदेशिक रोजगारीका लागि सरकारबाट स्वीकृति प्राप्त एभर ग्रीन इम्प्लाइमेन्ट सर्भिस प्रालिले नक्कली कागजात बनाई एक महिला कामदारलाई दुबई पठाउन लागेको अवस्थामा वैदेशिक रोजगार विभागको विमानस्थलस्थित लेबर डेस्कले आज पक्राउ गरेको छ। विभाग स्रोतका अनुसार ओमानका लागि तीन नेपाली पुरुष कामदारको संस्थागत अन्तिम श्रम स्वीकृति निकाली कागजात हेरफेर गरेर एक महिलालाई त्रिभुवन विमानस्थलबाट दुबई पठाउन लागेको अवस्थामा पक्राउ गरिएको हो।

एभर ग्रीन इम्प्लाइमेन्ट सर्भिस प्रालिका श्रम प्रतिनिधि सुमन दर्नामीले वैदेशिक रोजगार विभागबाट ओमानका लागि तीनजना पुरुषको अन्तिम स्वीकृति लिएको र स्वीकृतिको कागजात परिवर्तन गरी मीना परियारलाई दुबई पठाउन लागेको थियो। परियारसहित श्रम प्रतिनिधि दर्नामीलाई विभागले पक्राउ गरेको हो।

वैदेशिक रोजगार ऐन २०६४ को परिच्छेद ९ को कसुर र दण्ड सजायको दफा ४७ मा झुटा कागजात तयार पार्ने व्यक्ति वा संस्थालाई रु एक लाखदेखि रु तीन लाखसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *